उर्लाबारी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) उर्लाबारी नगर समितिले सामाजिक उत्तरदायित्वको उत्कृष्ट नमुना प्रस्तुत गर्दै शिक्षा शाखा र ट्राफिक प्रहरीलाई करिब १ लाख ५७ हजार रुपैयाँ बराबरको महत्वपूर्ण सामग्री सहयोग गरेको छ।
हालै ‘जेनजी आन्दोलन’ लगायतका घटनाक्रमबाट प्रभावित बनेका शिक्षा र ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले प्याब्सनले उक्त सहयोग गरेको हो।
शिक्षा शाखालाई १ लाख २० हजारको सहयोग
प्याब्सनले उर्लाबारी नगरपालिकाको शिक्षा शाखालाई सबैभन्दा ठूलो सहयोग हस्तान्तरण गरेको छ। आईतवार आयोजित एक कार्यक्रममा करिब १ लाख २० हजार रुपैयाँ मूल्यका अत्यावश्यक सामग्री प्रदान गरियो। यस सहयोगमा एक थान ल्यापटप, दुई थान प्रिन्टर, र एक थान कुर्सी समावेश छन्। यी सामग्रीले शिक्षा शाखाको दैनिक प्रशासनिक कार्यमा ठूलो सहजता ल्याउने विश्वास गरिएको छ।
ट्राफिक व्यवस्थापनलाई कम्प्युटर सेट
यसैगरी, नगरभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग पुगोस् भन्ने हेतुले उर्लाबारीस्थित ट्राफिक प्रहरी पोस्टलाई करिब ३७ हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर सेट हस्तान्तरण गरिएको छ। यसले ट्राफिक रेकर्ड र कार्यालय सञ्चालनलाई डिजिटलाइज्ड गर्न मद्दत पुग्नेछ।
उर्लाबारी नगर प्याब्सनका अध्यक्ष सूर्य पौडेलले यो सहयोग सामाजिक उत्तरदायित्वको निरन्तरता मात्र भएको स्पष्ट पार्नुभएको छ। उहाँले आगामी दिनमा पनि शिक्षा र सुरक्षा लगायतका क्षेत्रमा यस्ता सहयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। निजी विद्यालयको यो पहलले सामुदायिक हितमा काम गर्ने संस्थागत भावनालाई दर्शाएको छ।
