हरियाली सामुदायिक वन लिमिटेडले ५ प्रतिशत लाभांश दिँदै

हरियाली सामुदायिक वन लिमिटेडले ५ प्रतिशत लाभांश दिँदै

आर्थिक वर्ष २०८२/८३ मा ६९ लाख ४१ हजार ५ सय रुपैयाँ आम्दानी गर्ने लक्ष्य

कम्पनीकै सभाहलमा भव्यताका साथ सम्पन्न भयाे चाैथाे साधारणसभा

पथरी/ मोरङको पथरी शनिश्चरे–०२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडले  पहिलाेपटक लाभांश वितरण गर्न सफल भएकाे छ ।

पाँच वर्षअगाडि कम्पनी स्थापना भए पनि काेराेना लगायतका विभिन्न कारणले नाेक्सानीमा गएकाे कम्पनीले यस वर्ष उक्त नाेक्सानी हटाएर नाफा कमाउँदै सेयर सदस्यलाइ ५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएकाे कम्पनीका प्रबन्ध सञ्चालक राेहित बास्ताेलाले जानकारी दिनुभयाे ।

कम्पनीकै सभाहलमा बिहीबार भव्यताका साथ सम्पन्न चौथो वार्षिक साधारण सभामा अध्यक्ष दिलबहादुर तामाङले आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीले ६९ लाख ४१ हजार ५ सय रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको उद्धाेष गर्नुभयाे । अध्यक्ष तामाङका अनुसार अनुमानित पुँजीगत आम्दानी ९० लाख रहने र त्यही रकम पर्यापर्यटनकाे संरचना निर्माणमा खर्च गरिने छ । हरियाली सामुदायिक वनले पार्कको अवधारणा ल्याएसँगै हालसम्म ३ वटा पौडी पोखरी सञ्चालनमा ल्याइसकेको छ भने पार्क निर्माणसँग सम्बन्धित अन्य गतिविधि निरन्तर भइरहेको छ । यस वर्षको पिकनिक सिजनलाई लक्षित गरी नयाँ पिकनिक स्पट निर्माण गर्ने तयारी पनि भएको छ ।

भावी योजनाअन्तर्गत पार्कको अधुरो घेराबार सम्पन्न गर्ने, व्यवस्थित पार्किङ, बाटाघाटा तथा पोखरीलाई डिपिआर अनुसार स्तरउन्नति गर्ने, वनभोज कटेज थप निर्माण गर्ने, पर्यटकका लागि आवश्यक व्यापारिक स्टलहरू निर्माण गर्ने, कपल बेन्चहरू राख्ने, बालबालिकाका लागि स्केटिङ सञ्चालन गर्ने, संघ–प्रदेश सरकारको अनुदान सहयोगमा नेपालको नक्सा अंकित पोखरी स्तरउन्नति गर्ने तथा बोटिङका लागि नयाँ बोट खरिद गरी सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरिएको छ । यस्तै, उत्तर र उत्तर–पूर्वतर्फ प्रवेशद्वार (गेट) निर्माण, प्रबन्धपत्र तथा नियमावली संशोधन, कम्पनीको आफ्नै वेभसाइट निर्माण गरी सञ्चालन गर्ने लगायतका कार्यक्रम अघि सारिएको छ ।

कम्पनी अध्यक्ष दिलबहादुर तामाङकाे अध्यक्षतामा सम्पन्न साधारण सभामा  वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगर प्रमुख अतिथि रहनुभएकाे थियाे ।  कार्यक्रममा उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेत, देवीप्रसाद भेटवाल, केशवप्रसाद दाहाल, रमेश दाहाल, गणेश कुमार राई, निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राख्नुभयाे । (केशव भारद्वाज)

सम्बन्धित खवर