वडाले थाल्यो रंगशाला निर्माण

वडाले थाल्यो रंगशाला निर्माण

मोरङ, २० भदौं । पहिला फुटबल र क्रिकेटका प्रतियोगिता विद्यालयका मैदानमा आयोजना गरिन्थे  तर पछिल्लो समय विद्यालयका मैदानमा भवन निर्माण हुन थालेपछि ठूला तथा साना खेलकुदका  प्रतियोगिताहरू विद्यालयमा गर्न छाडिएको छ । यस्ता प्रतियोगिताले विद्यालयको पठनपाठनमा अवरोध पु¥याउने समस्या पनि देखिएपछि विकल्पका रूपमा पथरी शनिश्चरेका विभिन्न वडाले रंगशाला  निर्माण गर्न थालेका छन् ।

पथरीशनिश्चरे–८ स्थित बुद्ध माध्यमिक विद्यालयको पछाडिको खाली जग्गामा खेल मैदान निर्माण कार्य सुरु गरिएको छ । करिब दुई बिघा क्षेत्रफलमा फैलिएको यो मैदान वडा कार्यालयको पहल र नगरपालिकाको सहयोगमा निर्माण हुँदैछ । ‘मैदान अभावको समस्या समाधान गर्न यो निर्माण थालिएको हो,’ वडाध्यक्ष नवीनजंग कार्कीले बताए । नगरपालिकाको सहकार्यमा निर्माणाधीन यो मैदान विद्यालयले समेत प्रयोग गर्न पाउनेछ ।

निर्माण कार्य सकिएपछि आगामी वर्ष प्रतियोगिता आयोजना गर्ने लक्ष्य वडाध्यक्ष कार्कीले राखेका छन् ।  उनले यो मैदानलाई नगरको पहिचान झल्कने रंगशालाका रूपमा विकास गरिने बताए । मैदानमा प्याराफिटसहित  मञ्च समेत निर्माण गरिनेछ । यो मैदान बन्ने स्थानमा पहिले केही बिरुवा र होली थियो। अहिले ती बिरुवाको व्यवस्थापन र होली पुरेर मैदान को कार्य सम्पन्न गरिएको छ ।

खेल मैदान निर्माणमा स्थानीय प्रभात सामुदायिक क्लबले सहकार्य गरिरहेको छ ।  क्लबका उपाध्यक्ष किसन राईका अनुसार मैदान निर्माणपछि नियमित फुटबल प्रशिक्षण सुरु हुनेछ । रंगशाला बन्ने कुराले स्थानीय खेलाडीहरूमा ऊर्जा थपिएको छ ।

नगरपालिकाले निर्माण कार्यका लागि पहिलो चरणमा १० लाख रुपैयाँ उपलब्ध गराएको छ । वडाले पनि थप बजेट विनियोजन गर्ने भएको छ । कोशी प्रदेश खेलकुद परिषदले समेत रंगशाला निर्माणका लागी सहयोग गर्ने प्रतिबद्धता व्याक्त गरेपछि वडा अध्यक्ष कार्कीले सो स्थानमा रंगशाला निर्माणको तादरुकता देखाएका हुन् ।

मैदान निर्माणमा जग्गा खरिद गर्न नपरेकोले सम्पूर्ण खर्च भौतिक पूर्वाधार निर्माणमा केन्द्रित गरिने वडाध्यक्ष कार्कीले बताए । मैदानको संरक्षण र व्यवस्थापनको जिम्मा स्थानीय प्रभात सामुदायिक क्लबले लिने योजना बनाएको क्लब अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

खेल मैदानको अभावले स्थानीय खेलाडीहरूलाई प्रशिक्षणका लागि ६ किलोमिटर टाढा पथरी बजारसम्म जानुपर्ने बाध्यता थियो। अब मैदान निर्माण भएपछि स्थानीय खेलाडीहरूले आफ्नै वडामा सहज रूपमा प्रशिक्षण गर्न सक्नेछन्। स्थानीय खेलाडी सौर्य राउतले भन्छन् ‘नजिकै मैदान हुनु फाइदाजनक हुन्छ ,मैदान निर्माण र नियमित प्रशिक्षणले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत गर्छ ।’

पथरीमा खेल मैदानको अभावकै कारण खेलाडीहरूलाई प्रशिक्षण र प्रतियोगितामा समस्या भएको थियो । अब वडामा निर्माण हुने रंगशालाले मोरङ जिल्लामा खेलकुदको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

रंगशालाको निर्माण पछिको वडाका खेलाडीहरूलाई मात्रै नभई छिमेकी वडाका खेलाडीहरूलाई पनि आकर्षित गर्नेछ ।  निर्माणको सम्पूर्ण कार्य पूरा भएपछि मोरङको पथरीमा खेल मैदान अभावको समस्या केही हदसम्म समाधान हुने विश्वास लिइएको छ । हाल पथरीशनिश्चरे १मा एउटा र वडा नम्वर १० मा एउटा रंगशाला रहे पनि व्यावस्थीत भने बनेका छैनन् ।

पथरीशनिश्चरे- १को पथरीशनिश्चरे रंगशालामा पथरीशनिश्चरे गोल्डकप र अन्य स्थानिय प्रतियोगीता संन्चालन हुदै आएको छ भने वडा नम्वर १० को रंगशालामा रिफ्युजी कप संन्चालन हुदै आएको छ ।

 

सम्बन्धित खवर