पथरी शनिश्चरेको गौरव : विश्वमञ्चमा रिजु भट्टराई

पथरी शनिश्चरेको गौरव : विश्वमञ्चमा रिजु भट्टराई

– केशव भारद्वाज

पथरी/मोरङको पथरीशनिश्चरे नगरपालिकामा जन्मिएकी रिजु भट्टराईले अहिले केवल पथरीशनिश्चरेको मात्र नभएर सम्पूर्ण नेपालको नाम उँचो राख्ने जिम्मेवारी वहन गरेकी छिन् । २२ वर्षमै उनले मिस ग्लोब नेपाल २०२५ को ताज पहिरेर नेपालको प्रतिनिधित्व गर्ने अधिकार पाइन् । अब उनी युरोपियन राष्ट्र अल्बानियामा सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म हुने मिस ग्लोब २०२५ मा विश्वका ६० भन्दा बढी देशका प्रतियोगीहरूसँग प्रतिस्पर्धा गर्न तयार हुँदै छिन् ।
गाउँमा हुर्केकी, स्थानीय विद्यालयमा पढेकी र सामान्य परिवेशमा सङ्घर्ष गर्दै उदाएकी रेजु अहिले अन्तर्राष्ट्रिय मञ्चमा पुग्न लागेको कुरा आफैंमा प्रेरणादायी छ । स्थानीय न्यु पेगोडा अङ्ग्रेजी स्कुलबाट एसईई र पञ्चायत माविबाट विज्ञान मूल विषय लिएर कक्षा १२ उत्तीर्ण गरेकी रिजुले माथिल्लो तहमा रसायनशास्त्र पढेर आफ्नो औपचारिक अध्ययनलाई निरन्तरता दिइरहेकी छन् । विद्यालय तहमा अध्ययन गर्दैदेखि रिजु पढाइसँगै नृत्य, वक्तृत्वकला, वादविवाद तथा सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय सहभागी भई निरन्तर उत्कृष्ट हुने गर्थिन् । यही बाल्यकालीन शुभलक्षणको प्रतिफलस्वरूप आज उनी मिस ग्लोब २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै छिन् ।

रिजु भट्टराई जिताऔं अभियान सुरू 
रिजुको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता निश्चित भएपछि उनको गृहनगर पथरीशनिश्चरेमा उनलाई समर्थन गर्ने उद्देश्यले “रिजु भट्टराई जिताऔं अभियान” सुरु गरिएको छ ।
सोमबार पथरी जेसिजले पत्रकार सम्मेलन गरेर अभियानको औपचारिक सुरुवात गर्यो । अभियानका लागि पथरी जेसिजका पूर्वअध्यक्ष राजकुमार विश्वकर्मा संयोजक नियुक्त हुनुभएको छ । यसै गरी सुवर्ण खत्री कोषाध्यक्ष र सुमन कुरुम्बाङले सचिवका रूपमा जिम्मेवारी सम्हाल्ने कुरा पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा “रिजु भट्टराई जिताऔं अभियान” का संयोजक राजकुमार विश्वकर्माले सबैलाई अपिल गर्दै भन्नुभयो– “रिजु अब गाउँकी मात्र होइन, यस प्रदेशसँगै सम्पूर्ण नेपालको आशा भएकी छिन् । सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहयोग र साथ दिनुहोस् । त्यसमा पनि हामी नगरवासीले थप बढी सहयोग गर्नुपर्ने भएकाले उनलाई जिताउनका लागि हातेमालो गरौँ ।”
कार्यक्रममा पथरी जेसिजकी अध्यक्ष निर्मला भट्टराई, अन्य पदाधिकारी र स्थानीय अभियन्ताहरूको उपस्थिति थियो । रिजु भट्टराई जिताऔं अभियानमा सहभागी सबैको एउटै स्वर थियो – “रिजु अब हाम्रो नगरको मात्र नभएर राष्ट्रकै गौरव हुन् ।”


रिजुका बुबा प्रह्लाद भट्टराईले मिस ग्लोब २०२५ मा प्रतिस्पर्धा गर्नका लागि अल्बनिया जाँदाआउँदा लाग्ने खर्चमात्र नभएर अरू पनि धेरै खर्चको जोहो गर्नुपर्ने भएकाले सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो । बुबा प्रह्लादका अनुसार अहिले रिजु राजधानीमै रहेर उक्त प्रतिस्पर्धामा विजय हुने गरी कडा तयारी गरिरहेकी छन् । प्रस्तुतिको शैली, भाषिक दक्षता, आत्मविश्वास र अन्तर्राष्ट्रिय संस्कृतिको ज्ञान सबैमा उनी आफूलाई सक्षम बनाउन व्यस्त छिन् ।
रिजुले पटकपटक भन्ने गरेकी छिन्– “यो मेरो व्यक्तिगत यात्रा मात्र होइन, यो नेपालको पहिचान हो । गाउँबाट सुरु भएको मेरो सपना अहिले विश्व मञ्चमा पुगेको छ । अब सबै नेपालीको साथसहयोगले यसलाई जितमा परिणत गर्न चाहन्छु ।”
अतः रिजुको यात्रा केवल सौन्दर्य प्रतियोगिता जित्ने कुरा मात्र नभएर यसले महिला सशक्तीकरण, शैक्षिक प्रेरणा, राष्ट्रिय पहिचान र युवाहरूका लागि उदारणीय प्रेरणाको रूपमा लिनुपर्ने हुन्छ । यस्तै “रिजु भट्टराई जिताऔँ अभियान” पनि केवल एउटा व्यक्तिलाई जिताउने प्रयास होइन, यो अभियानले स्थानीय स्तरमा ऐक्यबद्धता, राष्ट्रिय स्तरमा गौरव र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रबद्र्धन गर्ने उदाहरणीय कर्म हो । यस अभियानले गाउँदेखि राष्ट्रसम्म एकताको सन्देश दिएको छ ।

 

सम्बन्धित खवर