चौतर्फी आलोचनापछि सरकारले भन्यो- इम्बोस्ड नम्बर जडान नगरे पनि कारबाही गरिँदैन

चौतर्फी आलोचनापछि सरकारले भन्यो- इम्बोस्ड नम्बर जडान नगरे पनि कारबाही गरिँदैन

काठमाडौँ  (भदाै १०)/ यातायात व्यवस्था विभागले तत्काल सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि कारबाही नहुने स्पष्ट पारेको छ।

चौतर्फी आलोचनापछि आज विभागले विज्ञप्ति जारी गर्दै उक्त प्लेट जडान अनिवार्य नगरिएको जानकारी दिएको हो।

विभागले आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वतस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न भने अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरूमा क्रमशः जोड्दै लैजाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरून्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रमसमेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ, साथै आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता गरेको यातायात कार्यालयमा गई स्वःस्फूर्त ढंगले इम्बोस्ड नम्बर प्लेट जडान गरी डिजिटलाइजेसन कार्यमा सहयोग गर्न अनुरोध गरिन्छ।’

विभागले प्रदेश कार्यालयहरूबाट जडानमा सहजताका लागि उक्त स्थानहरूमा पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको र सेवाग्राही तथा सवारीधनीहरूको सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध समेत गर्दै लगिएको जनाएको छ।

विभागले भदौ ३ गते सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको थियो तर उक्त सूचनाको चौतर्फी आलोचना भइरहेको छ। (थाहा खबरबाट)​

सम्बन्धित खवर