पथरीशनिश्चरे–६ मा रास्वपाको वडा अधिवेशन, नयाँ नेतृत्व चयन

पथरीशनिश्चरे–६ मा रास्वपाको वडा अधिवेशन, नयाँ नेतृत्व चयन

मोरङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पथरीशनिश्चरे–६ मा आफ्नो पहिलो वडा अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। शुक्रबार मंगलबारे बजारमा सम्पन्न भएको यस अधिवेशनले वडा कार्यसमितिको नयाँ नेतृत्व चयन गरेको छ।
अधिवेशनबाट सर्वसम्मत रूपमा प्रकाश रायमाझी अध्यक्षमा चयन भएका छन्। त्यसैगरी, समितिको उपाध्यक्षमा निशा तिम्सिना, सचिवमा घनश्याम दाहाल, र सदस्यहरूमा काशी मण्डल तथा रिंकु ठाकुर रहेका छन्।
नवगठित समितिका अध्यक्ष रायमाझीले रास्वपालाई वडामा थप बलियो र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पुराना राजनीतिक दलका परम्परागत शैली र प्रलोभनबाट माथि उठेर नयाँ विकल्पका रूपमा रास्वपालाई रोज्न आग्रह गरे। साथै, उनले परिवर्तनको चाहना राख्ने सबैलाई पार्टीमा आबद्ध हुन आह्वान पनि गरे।


वडा अधिवेशन भए पनि कार्यक्रममा उल्लेख्य जनसमुदायको उपस्थिति थियो। यसै अवसरमा विभिन्न पार्टी परित्याग गरी ५१ जना नयाँ सदस्यहरू रास्वपामा प्रवेश गरेका छन्।
नगर समिति सभापति हिक्मत श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको यस कार्यक्रममा प्रदेश र जिल्लास्तरका नेताहरूको पनि उपस्थिति रहेको थियो। नवगठित समितिलाई चाँडै नै पूर्णता दिइने जानकारी पनि गराइएको छ।

सम्बन्धित खवर