बोस्टन (अमेरिका) — नेपालकी उपसभामुख इन्दिरा रानालाई अमेरिकाको बोस्टन सिटी काउन्सिलले विशेष सम्मान प्रदान गरेको छ। सामाजिक न्याय र कैदीबन्दीका बालबालिकाको सेवामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई यो सम्मान दिइएको हो।
गत बिहीबार बोस्टनमा आयोजित एक विशेष कार्यक्रममा सिटी काउन्सिलका अधिकारीहरूले उपसभामुख रानालाई सम्मानपत्र प्रदान गर्दै उहाँको कामको प्रशंसा गरेका थिए। रानाले कैदीबन्दीका छोराछोरीको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यका लागि गर्दै आउनुभएको प्रयासलाई सिटी काउन्सिलले ‘असाधारण र प्रेरणादायी’ भनेको छ।
उपसभामुख राना विगत दुई दशकभन्दा बढी समयदेखि कैदीबन्दीका बालबालिकालाई आश्रय, शिक्षा र पोषण प्रदान गर्दै आइरहनुभएको छ। उहाँले आफ्नो संस्था ‘बन्दी सहायता गृह’ मार्फत हजारौँ बालबालिकालाई नयाँ जीवन दिन सहयोग गर्नुभएको छ। अमेरिकामा प्राप्त यो सम्मानले उहाँको यो निस्वार्थ सेवालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान मिलेको छ।
सम्मान ग्रहण गर्दै उपसभामुख रानाले आफ्नो कामलाई अन्तर्राष्ट्रिय स्तरमा मूल्याङ्कन गरिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले यो सम्मानले सामाजिक न्यायका क्षेत्रमा अझ बढी काम गर्ने प्रेरणा मिलेको बताउनुभयो। उहाँले भन्नुभयो, “यो सम्मान मेरो एक्लो प्रयासको नभई बन्दी सहायता गृहका सबै स्वयंसेवक, सहयोगी र सबै बालबालिकाको हो।”
उपसभामुख राना हाल अमेरिकाको सद्भावना भ्रमणमा हुनुहुन्छ। यसअघि उहाँले अमेरिकाका विभिन्न शहरमा आयोजित कार्यक्रमहरूमा पनि सहभागी भई नेपालमा सामाजिक न्याय र मानव अधिकारको अवस्थाबारे प्रकाश पार्नुभएको थियो।
