पथरी
नेकपा एमाले नगरकमिटी र अखिल नेपाल महिला संघ (अनेमा संघ) पथरी शनिश्चरे नगर समितिको संयुक्त आयोजनामा सोमबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। नेपाली नारीहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा ३० जना अग्रज आमाहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको विशेष अवसरमा विगतमा कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका अग्रज आमाहरूलाई सम्मान गरिएको आयोजकले जनाएको छ। नगरकमिटीले हरेक वर्ष अग्रजलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै यसपालि पनि सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य नैनाकला ओझा रहनुभएको थियो। सो अवसरमा प्रदेश कमिटी सदस्य दिलिपकुमार राई, अनेमा संघ केन्द्रीय सदस्य एवम् एमाले प्रदेश सदस्य यमुना विष्ट बास्तोला, प्रदेश कमिटी सल्लाहकार सदस्य एवम् पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापो, जिल्ला कमिटी सदस्य, नगर तथा वडा कमिटी पदाधिकारी तथा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरकमिटी उपसचिव एवम् संयोजक चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने नगरकमिटी अध्यक्ष सञ्जीव गिरीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
सो अवसरमा प्रदेश कमिटी सदस्य एवम् नगर इन्चार्ज दिलिपकुमार राई, अनेमा संघ केन्द्रीय सदस्य यमुना विष्ट, तथा नगरप्रमुख मोहनप्रसाद तुम्वापोले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।







