रेडस्टार : स्थानीय बाटो हुँदै राष्ट्रिय पहिचानमा

रेडस्टार : स्थानीय बाटो हुँदै राष्ट्रिय पहिचानमा

अभिभावकबाट विद्यालय सम्मानित हुँदाको पल...

पथरी (साउन ३१) / साउन महिनाको गर्मी, पथरीशनिश्चरे–२ को सिन भिलेज पार्टी प्यालेसमा हिजाे (शुक्रबार) सामान्य दिनजस्तो लागिरहेको थिएन। रङ्गीन अबिर, शुभकामना पत्र र टाली बजाउने तालमा विद्यालयबाट कक्षा १२ को परीक्षामा सफलता प्राप्त गर्ने विद्यार्थी, अभिभावक र पाहुनाको उत्साह झल्किरहेको थियो। मञ्च सजिएको थियो, रुद्राक्षको माला, टिका र मायाको चिनोले सिँगारिएको थियो। कारण थियो—रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीहरूको राष्ट्रिय परीक्षा बोर्ड २०८२ मा हासिल गरेको ऐतिहासिक सफलता।

विद्यालयले देशमै उत्कृष्ट नतिजा ल्याएको दाबी गर्दै विद्यार्थीलाई सम्मान र शुभकामना दिइरहेको कार्यक्रममा अचानक अभिभावकको तर्फबाट उल्टै विद्यालयलाई सम्मान गर्दा सबैले आश्चर्यका साथ प्रतिक्रिया दिन थाले । ‘हो, शिक्षक र विद्यालयको अथक परिश्रमबाट आज हाम्रा नानीबाबुले सफलता पाएका हुन्’ भन्ने ध्वनि गुन्जियो । अभिभावक राजकुमार गेलालले विद्यार्थी र अभिभावकको तर्फबाट विद्यालयलाई सम्मानस्वरूप घडीसहितको सम्मानपत्र प्रदान गरेर केही हदसम्म आफ्नो कर्तव्य पूरा गरेको उद्घोष गर्नुभयो । सम्मानपत्र विद्यालयका प्रिन्सिपल टि.एन. तिम्सिनाले ग्रहण गर्दाको क्षणमा ‘नयाँ शिक्षा’ तरङ्गित भइरहेको आभास हुन्थ्यो ।

सफलता मात्र होइन, गौरवको क्षण

उक्त कार्यक्रममा जब विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि. एन. तिम्सिनाले माइकमाथि उभिएर विगत सात वर्षको यात्राबारे कुरा गर्नुभयो, उहाँको स्वरमा गर्व र आत्मविश्वास झल्किरहेको थियो।

“रेडस्टार अब साधारण विद्यालय होइन, यो शैक्षिक हब हो। हाम्रा विद्यार्थीहरूले निरन्तर उत्कृष्ट नतिजा देखाइरहेका छन्, नगरको शैक्षिक पहिचान देशव्यापी पुर्याइरहेका छन् ।” उहाँले भन्नुभयो।

यसै शैक्षिक सत्रमा विद्यालयका चन्दन शाह र प्रवीण कट्टेलले व्यवस्थापनमा ३.९६ जिपिए ल्याउँदै नेपाल टप भएको दाबी प्रस्तुत गरेका थिए। उनीहरू मात्र होइन,  मनिषा पोख्रेल र प्रमिश रिजालले पनि उच्च अंक ल्याएर विद्यालयलाई गौरवान्वित पारे।

सम्मानको भावुक क्षण

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे  नगर प्रमुख मोहनप्रसाद तुम्बापोले जब ती विद्यार्थीहरूलाई सम्मानपत्र, टिका, खादासहित मायाको चिनो अर्पण गर्नुभयो तब  सभाहलमा उपस्थित अभिभावकहरूको आँखा चम्किएका थिए। “यो सफलता विद्यार्थी, अभिभावक र विद्यालयको त्रिपक्षीय साझेदारीको परिणाम हो ।” नगर प्रमुखले भन्नुभयो। त्यस क्षण, उच्च नतिजा ल्याउने विद्यार्थीहरूको अनुहारमा देखिएको आत्मगौरव मात्र होइन, उनीहरूको मेहनतले विद्यालयको नामलाई राष्ट्रिय स्तरमा उजागर गरेको स्पष्ट अनुभूत भइरहेको थियो।

तथ्य मात्र होइन, प्रेरणाको कथा

विद्यालयले सार्वजनिक गरेको नतिजाले यस कथालाई अझ बलियो बनाएको छ। देशभरका ५ लाख १० हजार ९८७ विद्यार्थीमध्ये रेडस्टारका दुई विद्यार्थीले ३.९६ जिपिएसहित नेपाल टप भएको दाबी गर्न पाउनु सामान्य उपलब्धि होइन। २ सय ७० मध्ये २ सय ६२ जना विद्यार्थी ग्रेडेड हुन सफल भए। ३१ जनाले ३.६ भन्दा माथि, १२७ जनाले ३.२ भन्दा माथि, ८९ जनाले २.८ भन्दा माथि र १५ जनाले २.४ भन्दा माथि जिपिए ल्याए। यसअघि पनि विद्यालयका सतिश आचार्य र अजय लिम्बूले एसईईमा ४ जिपिए ल्याएर रेडस्टारको नामलाई उचालेका थिए। यो निरन्तरता देख्दा लाग्छ—रेडस्टारमा मेहनतलाई परिणाममा बदल्ने संस्कार बनेको छ।

अतिरिक्त प्रतिभा र आत्मविश्वास

रेडस्टारले अध्ययनमा मात्र होइन, खेलकुद, गीत–सङ्गीत, वादविवाद, वक्तृत्वकला जस्ता क्षेत्रमा पनि उत्कृष्टता देखाएको छ। विद्यालयले यही सर्वाङ्गीण विकासको नतिजास्वरूप ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त गरेको छ ।

त्यो दिनको कार्यक्रममा ‘भोइस अफ किड्स’ सिजन–४ का फाइनल लिस्ट सोही विद्यालयका छात्र  निश्चल लिम्बूले गीत गाउँदा विद्यार्थी मात्र होइन, अभिभावक पनि उत्साहले तालमा सहभागी भए। त्यस क्षणले समेत देखायो कि रेडस्टारका विद्यार्थी किताबकै पानाभित्र मात्र सीमित छैनन्।

विद्यार्थीको अनुभव, अभिभावकको गर्व

सोही अवसरमा भाइस प्रिन्सिपल वसन्त मादेन, शैक्षिक संयोजक तीर्थ दहाल, शिक्षक रुद्र न्यौपाने र उत्कृष्ट नतिजा प्राप्त गर्ने चन्दन शाहले आआफ्ना अनुभव सुनाउनुभयो । शाहको भनाइ थियो— “यो सफलता केवल मेरो व्यक्तिगत मेहनत मात्र होइन, विद्यालय र शिक्षकको निरन्तर प्रेरणाको फल हो।” यस्तै अभिभावकहरूको अनुहारमा देखिएको चमक, विद्यालयको सात बर्से यात्रालाई गर्वले उजागर गर्ने अर्को दृश्य थियो।

सात वर्षको उपलब्धि, उज्यालो भविष्य

रेडस्टारको सफलताको कथा कुनै आकस्मिक घटना होइन, यो सात वर्षदेखि निरन्तर बुनिएको मेहनत र दृष्टिकोणको परिणाम हो। उक्त अवसरमा वडा नम्बर २ का वडाध्यक्ष नैना राई, नगर प्याब्सन अध्यक्ष सन्तोष बस्नेत, विद्यालयका संस्थापकद्वय सुजन बास्तोला र विजय डाँगी , उत्तीर्ण विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालयले उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार दिने परम्परा पनि सुरु गरेको छ। केही दिनअघि नै उत्कृष्ट जिपिए ल्याउने शाह र कट्टेललाई जनही ५० हजार, पोख्रेल र रिजाललाई २०–२० हजार रुपैयाँ नगद प्रदान गरिएको थियो।

अतः सिन भिलेजको त्यो दिन केवल सम्मान कार्यक्रम मात्र थिएन, त्यो रेडस्टारको सात बर्से यात्राको उपलब्धिमूलक उत्सव थियो। रेडस्टारले देखाएको दृढता, उत्कृष्टता र समुदायसँगको साझेदारीले यसलाई अब्बल शैक्षिक हबको रूपमा उभ्याइरहेको प्रमाण पेस गर्दै छ। भोलिका दिनमा उत्कृष्टता हासिल गर्ने यी विद्यार्थीहरूको यात्रा जुन दिशातिर लाग्छ, त्यसले नै रेडस्टारको चिनारीलाई अझ उज्यालो बनाउने देखिन्छ । (केशव भारद्वाज)

सम्बन्धित खवर