नेपाल बाल संगठन पुनर्जीवित गर्नुपर्छ : कार्की

नेपाल बाल संगठन पुनर्जीवित गर्नुपर्छ : कार्की

विराटनगर, कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्ने बताउनुभएको छ।

बिहिवार विराटनगरमा नेपाल बाल संगठनले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्न सकिने बताउनुभयो। उहाँले नेपालमा संस्था खोल्ने, त्यसलाई वास्ता नगर्ने प्रवृत्ति रहेको चर्चा गर्दै थुप्रै सरकारी संरचनाहरू चलाउन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो।

यस्ता पुराना संस्थाहरूबाट उपलब्धी हासिल गर्न सकिन्छ तर यहाँ त्यस्तो काम हुन सकिरहेको छैन त्यसैले बाल संगठनलाई नयाँ ढंगले सोच्नु जरुरी रहेको मुख्यमन्त्री कार्कीले औल्याउनुभयो। उहाँले भन्नुभयो, “संरचनाहरु छन् तर त्यसले रिजल्ट दिएको छैन। अब त्यस्ता संरचनाहरुलाई पुनर्संरचना गर्ने, क्रियाशील बनाउने र अगाडि बढ्ने गरी काम गर्नुपर्छ।‌‌”

बालबालिका हाम्रो भविष्य र हाम्रो सपना भएको उल्लेख गर्दै उहाँले उनीहरूलाई असल संस्कार र समाजप्रति उत्तरदायी बनाउनका लागि संगठनले भूमिका खेल्नुपर्ने चर्चा गर्नुभयो। कोशी प्रदेशमा रहेको बाल संगठनको अवस्था भौतिक संरचना र सम्पत्तिको विषयमा सामाजिक विकास मन्त्रालयलाई अध्ययन गरी यथार्थ विवरण ल्याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले यसको विवरणका आधारमा आगामी दिनमा प्रदेश सरकारले आफ्ना नीति र कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले संघीय सरकारको हातेमालोबाट मात्रै प्रदेशमा बाल संगठनलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै यसतर्फ संघीय सरकारले पनि आफ्नो कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल बाल संगठन कि केन्द्रीय अध्यक्ष विद्या न्यौपानेले बाल संगठनको अहिलेको अवस्थाका विषयमा प्रकाश पार्नुभएको थियो।

सम्बन्धित खवर