हायू परिवार अन्ततः सिन्धुली नै फर्किएको छ

हायू परिवार अन्ततः सिन्धुली नै फर्किएको छ

पोखरा 

सिन्धुलीबाट पोखरा आइपुगेको हायू परिवार अन्ततः सिन्धुली नै फर्किएको छ । गोलन्जोर गाउँपालिका–६ का अध्यक्ष रविनकुमार श्रेष्ठले आफ्नै घरमा राख्ने बताएपछि हायू परिवार सोमबार पोखराबाट सिन्धुलीतर्फ लागेको हो ।

हायू परिवारलाई लिन वडाध्यक्ष श्रेष्ठ स्वयं पोखरा महानगरपालिकाका–३० गगनगौंडा पुगेका थिए । उनीहरूलाई महानगर प्रमुख धनराज आचार्यले विदाइ गरे । उर्मिला हायुका ६ छोरा, ६ छोरी, एक बुहारी, २ ज्वाइँ, ३ नातिनातिना र बुहारीका २ भाइ बहिनी गरी २१ जना सिन्धुलीतर्फ लागेका हुन् । तीमध्ये गगनगौंडामा नै यसअघि बस्ने छोरा, ज्वाइँ र एक नातिनी भने पोखरा नै फर्किने छन् । उनीहरूलाई महानगरले मुग्लिनसम्म पठाएको थियो भने मुग्लिनबाट वडाध्यक्षले व्यवस्था गरेको गाडीमा सिन्धुलीतर्फ पठाइएको छ ।

हायू परिवारलाई हाल आफ्नै वडाको सुंगुरेमा रहेको पुरानो घरमा राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । ‘अहिले अर्को व्यवस्था नभएसम्म मेरै घरमा राख्छु । कति समयसम्म बस्न चाहनुहुन्छ बस्न सक्नुहुन्छ,’ उनले भने, ‘विभिन्न संघसंस्थासँग सरसहयोग जुटाएर अर्को घरजग्गा व्यवस्था गर्ने छौं ।’ सुंगुरेबाट विद्यालयसमेत १५ मिनेटको दूरीमा रहेको उनले जानकारी दिए ।

सम्बन्धित खवर