जसपाका कार्यकर्ताले गरे प्रहरीको गाडीमा तोडफोड

जसपाका कार्यकर्ताले गरे प्रहरीको गाडीमा तोडफोड

सर्लाहीका एसपीलाई धम्की दिएको आरोपमा जसपा नेता पक्राउ गर्न गएका डीएसपीको गाडीमा तोडफोड
सर्लाहीमा प्रहरी र जनता समाजवादी पार्टी (जसपा) समर्थकबीचको विवादले झडपको रुप लिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई धम्की दिएको आरोपमा जसपा मधेस प्रदेश अध्यक्ष रामनाथ यादवलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ।
प्रहरी स्रोतका अनुसार एसपी खड्कालाई मोबाइलमार्फत ज्यान मार्ने धम्की दिइएको थियो। सोही आरोपमा यादवलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालयबाट खटिएको डीएसपीको टोली सदरमुकाम मलंगवामा पुगेको थियो। यादवको खोजीमा खटिएको टोलीलाई रोक्ने प्रयास गर्दै आक्रोशित भीडले डीएसपी सवार गाडीमा तोडफोड गरेको हो।
घटनामा प्रहरीको सरकारी सवारीसाधन क्षतिग्रस्त भएको छ भने स्थिति तनावग्रस्त बनेको छ। घटनास्थलमा थप प्रहरी फोर्स परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
“प्रहरीमाथिको आक्रमण गम्भीर विषय हो। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। दोषीलाई कानुनी कारबाही गरिनेछ,” जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ताले जानकारी दिए।
जसपा नेताहरूले भने आरोप अस्वीकार गर्दै प्रहरीले विपक्षी नेतामाथि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिरहेको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन्।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाका लागि सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
जनचेतना अनलाइन समाचारबाट

सम्बन्धित खवर