पथरी शनिश्चरे – पथरीशनिश्चरे नगरपालिका–१ को सुन्दर बस्तीमा रहेको श्री सुन्दर बाल विकास केन्द्र अगाडि लडेको विशाल सखुवाको रुख तीन वर्ष बित्दा पनि हटाइएको छैन। वर्खायामको बेला आएको हावाहुरीका कारण जरैसहित ढलेको उक्त रुख हालसम्म पनि बाल केन्द्रको ढोकामै फैलिएको अवस्थामा छ।
तीन बर्ष अघि लडेको उक्त रुखले भवनको पूर्वतर्फको पहिलो पिलरमा सामान्य क्षति पुर्याएको थियो। सौभाग्यवश, त्यो समय मानवीय क्षति भने हुन पाएन। त्यतिबेला भवन निर्माण कार्य पनि चलिरहेको थियो।
बाल विकास केन्द्रमा सुन्दर बस्ती मात्र नभई नगरपालिका भित्रका विभिन्न वडाबाट साना बालबालिका पठनपाठनका लागि आउने गरेका छन्। तर अहिले रुख नहटाइएकाले बालबालिका ढोकाबाट आउन जान असहज महसुस गरिरहेका छन्। विद्यालय परिसरमै लडेको रुखको कारण वातावरण जोखिमपूर्ण बनेको छ।
स्थानीय युवा सुमित धिमालका अनुसार, “यो रुख ढलेको तीन वर्ष भइसक्यो। अझै हटाइएको छैन। यस्तो अवस्थामा बालबालिकाको सुरक्षालाई जोखिममा पार्नु गम्भीर बेवास्ता हो। हामी सम्बन्धित सामुदायिक वन पदाधिकारी तथा वडा जनप्रतिनिधिहरूलाई चाँडै समाधानका लागि अनुरोध गर्छौं।”
बाल विकास केन्द्र कुनै एउटा बस्तीको मात्र नभई बहु वडाका लागि उपयोगी भएकोले, सम्पूर्ण वस्तीबासी तथा अभिभावकहरूले चाँडोभन्दा चाँडो रुख हटाइ बालबालिकाको आवतजावत सहज बनाइदिन माग गरेका छन्।