पथरी / नेपाल पत्रकार महासङ्घ मोरङको आयोजनामा पथरीशनिश्चरेको सिन भिलेज पार्टी प्यालेसमा एक दिने कानुन पत्रकारिता तालिम सम्पन्न भएको छ ।
शनिबार सम्पन्न तालिममा कानुनी विषयवस्तु, अदालती क्रियाकलापमा पत्रकारिताको भूमिका, पत्रकारितामा आचारसंहिता र विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो । कार्यक्रम नेपाल पत्रकार महासघ मोरङकी अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा महासंघका सदस्य तथा तालिम संयोजक ईश्वर दुलालले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी, नेपाल पत्रकार महासंघ केन्द्रीय अनुशासन आयोग सदस्य केदार चौहान, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, महासंघ मोरङका पूर्व उपाध्यक्ष मोहन भट्टराई, संघका पूर्व सहसचिव सन्तोष राई, पूर्व सदस्य जगन्नाथ भट्टराई, घनश्याम भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहन प्रसाद तुम्वापोले कानुनी ज्ञानसहितको पत्रकारिता आजको आवश्यकता भएको बताउँदै यस्ता तालिमले पत्रकारलाई थप जिम्मेवार र दक्ष बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले पत्रकारहरू निष्पक्ष र विवेकपूर्ण रूपमा कानुनी विषयमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
तालिममा पूर्व मुख्य न्यायाधिवक्ता तथा अधिवक्ता रूपेश कोइराला, राष्ट्रिय सभा पूर्वसचिव राजेन्द्र फुयाल र पत्रकार एवम् अधिवक्ता केशव निरौलाले आनुभाविक रूपबाट सहजीकरण गर्नुभएको थियो ।