– केशव निरौला, पथरी
पूर्वोत्तर मोरङको पथरीशनिश्चरेमा रहेको नगर खेलकुद विकास समितिले मितव्ययीरूपबाट पुनः नगर खेलकुद महोत्सव–२०८२ को आयोजना गर्दै छ । दोस्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सवको आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भई भोलिदेखि उद्घाटनसहित प्रतियोगितात्मक खेल सञ्चालन हुँदै छ । करिब १४ लाख ५० हजारको कुल अनुमानित लागतमा सम्पन्न गर्ने लक्ष्यसहित यो दोस्रो संस्करणको नगर खेलकुद महोत्सव सुरु हुन लागेको हो ।
सामान्यतया एउटै खेलकुद प्रतियोगितामा औसत ५ देखि ८ लाख रुपैयाँसम्म खर्च हुने परिस्थितिमाझ पनि यो महोत्सव नै केवल १४ लाख ५० हजारको अनुमानित लागतमा समापन गर्ने लक्ष्य लिइएको तथ्य आज आयोजित पत्रकार सम्मेलनमा उजागर गरियो । अनुमानित लागतले पुग्छ त ? भन्ने पत्रकारको जिज्ञासामा आयोजक नगर खेलकुद विकास समितिमा सदस्य सचिव एवम् नगरपालिकाका शिक्षा, युवा तथा खेलकुल शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले भन्नुभयो– ‘हामीले सक्दो मितव्ययिता अपनाएर महोत्सव आयोजना गरिरहेका छौँ । प्रथम नगर महोत्सव पनि यस्तै बजेटमा समापन गरेका हौँ ।’ आयोजक समितिका पदाधिकारीले समेत कुनै सेवासुविधा नलिई सेवाभावमा सक्रिय योगदान गर्दा ठुलो व्ययभार घट्ने गरेको अघिल्लो महोत्सवको उदाहरण पेस गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राईले भन्नुभयो– ‘खानपिनमा मितव्ययिता अपनाउँदा पनि धेरै रकम बचत हुँदो रहेछ । थप पारदर्शिताका लागि सबै कारोबारलाई डिजिटल प्रणालीबाट भुक्तानी गर्ने परिपाटीले सबैलाई अझ बढी जिम्मेवारबोध गराइरहन्छ ।’ अघिल्लो प्रथम संस्करणको महोत्सवमा नगरबाट विनियोजित १४ लाख ३१ हजारको लागतमा फुटबल (महिला, पुरुष), भलिबल, क्रिकेट, बुद्धिचाल (चेस), तेक्वान्दो, कराते र मिनी म्याराथन गरी ७ ओटा विधामा प्रतिस्पर्धा गर्न सफल भएको आयोजक समितिले यस वर्ष भारोत्तलन र पौडी प्रतियोगिता थप गरेको छ ।
प्रतियोगिताका प्रत्येक विधामा विजेतालाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्रसमेत प्रदान गरिने छ । फुटबलतर्फको प्रथम र द्वितीय हुनेलाई क्रमशः १ लाख र ५० हजार रूपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने प्रत्येक म्याचमा दुई हजारका दरले ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले रहने छ । क्रिकेटतर्फ प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः ३५ हजार र २० हजार नगदसहित ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महिला फुटलतर्फ प्रथमलाई १५ हजार र द्वितीयलाई ७ हजार पुरस्कार राशि निर्धारण गरिएको छ । म्याराथन प्रतियोगिताका पुरुष तथा महिला दुवै प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः जनही ७ हजार, ५ हजार, ३ हजार र २ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । करातेतर्फ प्रथम हुने खेलाडीलाई ५ हजार र बुद्धिचाल प्रतियोगितातर्फ प्रथम र द्वितीय खेलाडीलाई क्रमशः १० हजार र ६ हजार दरले पुरस्कृत गरिने छ ।
यी प्रमुख पुरस्कारका अलवा अन्य धेरै उपविधामा समेत पुरस्कार राशि विनियोजन गरिएको आयोजकले जनाएको छ ।