वडाध्यक्षलाई कार्यवाहक दिएर गाउँपालिका अध्यक्ष लागे चीन भ्रमणमा

वडाध्यक्षलाई कार्यवाहक दिएर गाउँपालिका अध्यक्ष लागे चीन भ्रमणमा
विराटनगर, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । ९ दिने चीन भ्रमणमा जाने भएपछि उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिएका हुन् ।
माझीले वडा नम्बर ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । भगत नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन् । पालिका उपाध्यक्ष गुणवतीदेवी थारुले आफू कार्यालयमा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएको गुनासाे गरिन् । उनले कार्यवाहककाे विषयमा अब न्यायिक लडाइँ लड्ने बताइन् ।
माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि ९ दिने चीन भ्रमणमा जाँदैछन् । सोमबार कार्यालयबाट बिदा भएका उनको बिदाइका लागि उपाध्यक्ष थारु गइनन् ।अध्यक्ष माझी नेकपा माओवादी केन्द्र उपाध्यक्ष थारु एमालेबाट निर्वाचित भएकी हुन् । दुईबीच सम्बन्ध राम्रो छैन । सम्बन्ध राम्रो नभएपछि अध्यक्ष माझीले आफ्नै पार्टीका वडाध्यक्षलाई कार्यवाहककाे जिम्मेवारी दिएका हुन् । वडाध्यक्ष भगतले कार्यवहाक जिम्मेवारी आफूले पाएकाे बताए । कानुनत: उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिन मिल्दैन ।

सम्बन्धित खवर