विभिन्न सांस्कृतिक कार्यक्रम सहित एभरेस्टले मनायो ३९ औँ वार्षिक उत्सव

विभिन्न सांस्कृतिक कार्यक्रम सहित एभरेस्टले मनायो ३९ औँ वार्षिक उत्सव

पथरी, मोरङको पथरीशनिश्चरे १ मा रहेको एभरेस्ट अङ्ग्रेजी स्कुलले आफ्नो ३९ औँ वार्षिक उत्सव मनाएको छ । हिजो विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै एभरेस्टले वार्षिकोत्सव सम्पन्न गरेको हो ।

सो अवसरमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी र उनीहरूका अभिभावकलाई पनि सम्मान गरिएको थियो । एभरेस्टमा अध्ययन गरेका विद्यार्थीले राम्रो नतिजा सहित देश तथा विदेशमा समेत राम्रो रोजगारी पाएको, हाल नगर, जिल्ला तथा प्रदेश स्तरमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा समेत एभरेस्टका विद्यार्थीले उत्कृष्टता प्राप्त गरिरहेको विद्यालयका निर्देशक रविन कन्दङ्वाले बताउनुभयो ।

सोही अवसरमा बोल्दै नगर प्रमुख मोहन तुम्वापोले नगरका थुप्रै विद्यालयहरू मध्ये एभरेस्ट पनि शिक्षाका लागि दरिलो खम्बा रहेको बताउनुभयो । चन्द्रमान कन्दङ्वाले सुरु गर्नुभएको एभरेस्ट स्कुल अहिले नगरमा मात्रै नभएर जिल्ला स्तरमा पनि प्रतिस्पर्धा गर्ने अवस्था पुगेको भन्दै वक्ताहरुले खुसी प्रकट गरे ।

वार्षिकोत्सवको अवसरमा जीवन बरालद्वारा निर्देशित र विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको अभिनयमा तयार परिएको ‘झुटो बोल्यो कि पोल्यो’, बच्चा जन्माउने भाँडो, घोप्टे युग, ईच्छा र चाहाना शीर्षकका लघु नाटकहरू प्रस्तुत भएको थियो ।

विद्यार्थीहरूले नै सञ्चालन गरिएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले एकल तथा सामुहिक गीत, नृत्य, वक्तृत्वकला प्रस्तुत गरे । साथै भितिन्न जातजातिको संस्कृति झल्किने र्याम्पमा समेत विद्यार्थीहरू स्टेजमा उपस्थित थिए । प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई भने सि.ए. डे. (फागुन २५ गते) का दिन पुरस्कार प्रदान गरिने निर्देशक कन्दङ्वाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर