नगरपालिकाद्वारा खेलाडीलाई सम्मान

नगरपालिकाद्वारा खेलाडीलाई सम्मान

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले फुटबल प्रतियोगितामा सफलता हासिल गरेपछि आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।

लेटाङमा आयोजित प्रथम अन्तर पालिका नकआउट फुटबल प्रतियोगितामा उपाधि जितेपछि नगरपालिकाले आफ्नो टिमको सम्मान गर्दै प्रोत्साहन कार्यक्रमको आयोजना गरेको हो ।
पुस २० गते शनिबार फाइनल खेलमा आयोजक लेटाङ नगरपालिकालाई ३–१ गोल अन्तरले हराउँदै पथरी शनिश्चरेले प्रथम स्थान हासिल गर्दै ट्रफी सहित नगद रु. १ लाख १ हजार ११ रुपैयाँ जितेको थियो ।

आज नगरपालिकाको सभाहलमा भएको सम्मान कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगर खेलकुद विकास समिति अध्यक्ष दिपक राईले खेलाडीहरूलाई प्रोत्साहन गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो । उप–प्रमुख काफ्लेले भन्नुभयो–‘खेलकुदले नगरको पहिचान मात्र बढाउँदैन, यो भावी पुस्ताका लागि प्रेरणा पनि हो । खेलाडीहरुलाई खेल विकास गर्न थप योजनाहरु ल्याउँदैछौं ।’

पथरीशनिश्चरे नगरपालिकाका फुटबल टोलीका कप्तान मीन धिमालले पनि यस सम्मानले आफूहरूलाई थप हौसला मिलेको बताएका छन् । टिमलाई लगातार २ गोल गर्दै अग्रता दिलाउन सफल खेलाडी सौरे राउतले भने–‘यो सफलता हाम्रो लागि मात्र होइन, नगरकै गर्वको कुरा हो । आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने बाचा गर्छौं ।’

सम्बन्धित खवर