ईश्वर दुलाल, पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ मा अवस्थित सुनाखरी माध्यमिक विद्यालयले आफ्नो ३२ औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बिहीबार नगरप्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, सम्मान र पुरस्कार वितरणजस्ता गतिविधिहरू गरी मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तुम्वापोले विद्यालयले तीन दशकको सफल यात्रा पूरा गरेकोमा विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले स्थानिय तह र शिक्षाको सहकार्यले मात्र विद्यार्थीको समग्र विकास सम्भव हुने कुरालाई जोड दिनुभयो ।
सो कार्यक्रममा शिक्षा शाखा प्रमुख नविन खुलाल, पञ्चायत मावि व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटा, कार्यपालिका सदस्य वीरध्वज शिवा, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, समाजसेवी धनकुमार तामाङलगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक भूमिका मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्रगति र आगामी योजनाबारे जानकारी दिनुभयो । यस वर्ष उत्कृष्ट शिक्षकको रूपमा पिताम्बर घिमिरेलाई घोषणा गरिएको थियो । साथै, शिक्षक लक्ष्मी देवी खड्का थापा, तेजबहादुर थापा, गजिन्द्रबहादुर काफ्लेलाई सम्मान गर्दै बिदाई गरिएको थियो ।
कार्यक्रमका क्रममा तारानिधि तिम्सिना, बलराम तिम्सिना र सुनिता भट्टराईलाई शिक्षक सम्मान प्रदान गरिनुका साथै खेलकुद सप्ताहका विजयी छात्र–छात्राहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई बलराम तिम्सिना र पिताम्बर घिमिरेले सञ्चालन गरेका थिए ।