वर्षाैँदेखि अवैध शनिश्चरे डायग्नाेस्टिक सेन्टर

वर्षाैँदेखि अवैध शनिश्चरे डायग्नाेस्टिक सेन्टर

पथरी, सरोकारवाला निकायहरूको अनुगमन नहुँदा पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ शनिश्चरे बजारमा बषौंदेखि अवैधरुपमा डायग्नोष्टिक सेन्टर तथा ल्याब सञ्चालनमा रहेको पाइएको छ ।

पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख देविमाया काफ्लेको अगुवाईमा मंगलबार प्रहरी, प्रशासनसहितको टोलीले अनुगमन गर्दा शनिश्चरे डायग्नोष्टिक सेन्टर प्रा.लि. २४ घण्टे उपचार सेवा अवैधरुपमा सञ्चालन भइरहेको पाइएको छ ।

शनिश्चरे डायग्नोष्टिक सेन्टर प्रा.लि. २४ घण्टे उपचार सेवा अनुमति विना वषौंँदेखि सञ्चालनमा भएपनि सरोकारवाला नियमन निकायहरुले चासो नदेखाउँदा मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा यस्तो बेथिति भएकाे स्थानीय बताउँछन् । वर्षाैँदेखि अवैध हुँदा पनि सम्बन्धित निकाय माैन रहनुले अनुगमन र नियमन कस्तो भइरहेकाे छ भन्ने स्पष्ट भएकाे छ ।

डायग्नोस्टि सेन्टर विना दर्ता सञ्चालन गरिरहेको पाइएको छ भने व्यवसाय प्रमाण–पत्र २०७३ सालमा दर्ता गरेको तर २०७५ पछि नविकरण नगरेको पाइएको छ ।

सो डायग्नोष्टिक सेन्टर प्रा.लि. सञ्चालन गर्ने अनुमतिका लागि कागजातहरु पूरा गरी दर्ता प्रक्रिया तुरुन्त अगाडि बढाउन बारम्बार सुझाइएको पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य अधिकृत एकराज खत्रीले बताउनुभयो । तर, डायग्नोष्टिक सेन्टर सञ्चालक अटेर गरी हालसम्म पनि दर्ता नगरी सञ्चालन गरिरहेका छन् । सो डायग्नोष्टिक सेन्टरमा अव्यस्थित तरिकाले विरामीहरुको उपचार गर्ने गरेको पाइएको छ भने सो सेन्टरमा ल्याव टेष्ट र वेडहरु पनि राखिएको छ । सो सेन्टरमा सञ्चालित फार्मेसी लाइसेन्स होल्डर नबसी गैह्स्वास्थ्यकर्मी बसी औषधि विक्री वितरण गरेको पाइएको छ ।

यसैगरी सो डायग्नोष्टिक सेन्टरमा विभिन्न डाक्टरहरुको नाम लेखेर बोर्ड राखी प्रचार पनि गरिएको छ । सो प्रचार बोर्डमा डा. प्रदिप कुमार यादव जनरल सर्जन एम.बी.बी.एस. एम. एस., एन.एम.सी.नं. १०९८९, साप्ताहिक सेवा भनेर प्रचार गरिएको छ । अनि पायल्स, फिस्टुला, फिसर, हाइड्रोशिल, हर्निया, गाठागुठी बिना अप्रेशन १००५ ग्योरेन्टीका साथ सफल उपचार गरिन्छ भनेर लेखिएको बोर्डहरु सेन्टर अगाडि राखिएको छ । यस्तैगरी डा. रामकुमार साह, डा. रभि कुमार साह, डा. अविनाश कार्कीको सेवा पनि उपलब्ध छ भनेर प्रचार प्रसार गरिएको छ ।

यसरी अवैधानिक तरिकाले उपचार गरिरहेको विषयमा सो डायग्नोष्टिक सेन्टरका संचालक उत्तर श्रेष्ठसँग सोध्दा श्रेष्ठले भन्नुभयो ‘हामीबाट गल्ती भएको हो भोलिबाटै दर्ता प्रक्रिया र कागजातहरु मिलाउन थाल्नेछौं ।’

सम्बन्धित खवर