माेरङमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त

माेरङमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त

लेटाङ, लेटाङ नगरपालिका अन्तर्गत श्री सूर्य प्राथमिक विद्यालय, लेटाङ ५, मा खुला प्रतिस्पर्धाबाट राजु गौतम प्रधानाध्यापकको रुपमा नियुक्त भएका छन्। ‘लेटाङ नगरपालिका प्रधानाध्यापक छनौट तथा व्यवस्थापन कार्यविधि २०८०’ अनुसार विद्यालयमा रिक्त पदमा गौतमको नियुक्ति भएको यो पहिलो हो।

मोरङ जिल्लामा प्रधानाध्यापक छनौटको यस्तो प्रक्रिया अघि बढाउने पहिलो पालिका बनेको लेटाङ नगरपालिकाले विद्यालय प्रशासनलाई थप पारदर्शी र सक्षम बनाउन कार्यविधि अनुसार प्रधानाध्यापक नियुक्ति प्रक्रियामा सुधार ल्याएको छ।

कार्यविधिका अनुसार, विद्यालयमा प्रधानाध्यापक पद रिक्त हुँदा सम्बन्धित विद्यालयले पालिकासँग अनुमति लिई चयन प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ। यो प्रक्रियामा पहिलो चरणमा विद्यालय स्तरीय प्रधानाध्यापक छनोट समितिले योग्यता पुगेका शिक्षकहरुको आवेदनमाथि विद्यालय विकास प्रस्ताव, कार्यअनुभव, तथा व्यवस्थापकीय क्षमताको मूल्यांकन गरेको थियो। त्यसपछि प्राप्त सिफारिस नगरपालिकामा पठाइएको थियो।

दोस्रो चरणमा, राजु गौतमले विद्यालय विकास प्रस्ताव प्रस्तुत गर्नुका साथै तालिम, शैक्षिक योग्यता, र अन्तर्वार्तामा सहभागिता जनाएका थिए। पहिलो चरणको नतिजासँग जोड गरि अन्तिम सिफारिस नगरपालिकाले गरेको हो।

नवनियुक्त प्रधानाध्यापक गौतमले यस आर्थिक वर्षमा कार्यविधि अनुसार प्राप्त गर्नुपर्ने अतिरिक्त भत्तालाई विद्यालयको अक्षयकोष स्थापना गर्न प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। लेटाङ खबरबाट

सम्बन्धित खवर