पथरी गोल्डकप : टाईबेकरबाट सङ्कटा फाइनल प्रवेश

पथरी गोल्डकप : टाईबेकरबाट सङ्कटा फाइनल प्रवेश

मोरङको पथरीशनिश्चरेमा जारी अन्तराष्ट्रिय आमन्त्रण प्रथम पथरीशनिश्चरे गोल्डकपमा सङ्कटा क्लव फाइनल प्रवेश गरेको छ ।

आयोजक पथरी ११ लाई टाईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सङ्कटा फुटबल क्लव काठमाडौं फाईनल प्रवेश गरेको हो ।

निकै प्रतिकारात्मक पहिलो हाफको खेलमा सङ्कटाले अग्रता लिएको थियो । खेलको १२ औँ मिनेटमा संङ्कटाका कृपा चौधरीले गोल गर्दै अग्रता लिएका थिए । दोस्रो हाफमा एक पक्षिय दवावमा राखेको पथरी ११ ले दोस्रो हाफको २६ औं मिनेटमा विवेक पौडलले गोल गर्दै खेल बराबरीमा पुर्याए । आयोजक पथरी ११ ले दोस्रो हाफको खेलमा निकै राम्रा अवसरहरु पाए पनि स्कोर गर्न नसक्दा खेल हार्नु परेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाईबेकरमा धकेलिएको थियो ।

टाईबेकरमा आयोजक पथरी ११ का सनम धिमालले गोर गरे भने साईमन लिम्बु र धिरज क्षेत्रिको बल बाहिरिदा निरज परियारको प्रहार सङ्कटाका गोल रक्षक निशान रानाले बचाएका थिए । संङ्कटाका लागि पुस्कर खड्का, युवराज ढकाल र कृपा चौधरीले गोल गर्दा अनिस परियारको बल बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच सङ्कटाका निशान राना घोषित हुदै नगद पॉच हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत आज बिहिबार हुने दोस्रो सेमिफाईनल खेल ब्रिगेड ब्वाईज काठमाडौं र झापा ११ बिच हुने छ ।

प्रतियोगितामा ए डिभिजन क्लब, भारतको युकेएफसी सहित ८ टोलीको सहभागिता रहेको छ । पथरी ११ ले आयोजना गरेको प्रतियोगिताको मुख्य प्रायोजक इन्ट्रा फाउण्डेशन अमेरीकाको रहेको छ भने मुख्य सहयोग पथरी शनिश्चरे नगरपालीकाले गरेको छ ।

गोल्डकपको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रू २५ हजार र अन्य विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ द म्याचले पॉच हजार प्राप्त गर्ने छ । खेल असोज ५ देखि १२ गते सम्म मोरङको पथरी शनिश्चरे १ स्थित पथरी रंगशालामा सञ्चालन भइरहेको छ ।

सम्बन्धित खवर