बंगलादेशमा हिंसात्मक गतिविधि बढ्दै गएर प्रधानमन्त्री शेख हसिनाले देश छोडेको अवस्थामा त्यहाँस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले सोमबार एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो ।
दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली छन् । त्यहाँ अध्ययनरत अधिकांश नेपाली विद्यार्थी नेपाल फर्किइसकेका छन् । बाँकी रहेकाहरूसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेको जनाएको छ । नेपाल फर्किन चाहनेलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भएपछि मात्रै यात्रा गर्न समेत दूतावासले अनुरोध गरेको छ ।
सरकारले सन् १०७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानी आफन्तहरूलाई निजामती सेवामा आरक्षण सुविधा दिएको थियो । त्यसको विरोधमा गत महिनादेखि विद्यार्थीहरूले सडकमा प्रर्दशन गर्दै आएका छन् ।
अदालतको आदेशपछि सरकारले अधिकांश कोटा फिर्ता लिने निणर्य गरेको थियो । तर, विद्यार्थीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । सोही क्रममा आइतबार कम्तिमा ९० जनाको मृत्यु भएको थियो । हिंसाले उग्ररुप लिन थालेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोड्नु भएको छ ।