कक्षा ११ का विद्यार्थीलाई डिइकमको स्वागत

कक्षा ११ का विद्यार्थीलाई डिइकमको स्वागत

पथरी, होटल म्यानेजमेन्ट अध्यापन गराउदै आएको दि इस्ट्रन इम्पायर कलेज अफ हस्पिटालिटि म्यानेजमेन्ट (डिइकम) कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्न एक भव्य कार्यक्रमको आयोजना गरेको छ। झापाको प्रतिष्ठित पाँच तारे होटल ‘होटल मेची क्राउन’ मा आयोजित यो कार्यक्रममा विद्यार्थीहरू, शिक्षकहरू र कलेज प्रशासनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कलेजकी प्रिन्सिपल रेजिना विष्टले कलेज मार्फत विद्यार्थीले किताबी ज्ञान मात्र नभइ जीवन जिउने सम्पुर्ण कला समेत सिक्न पाउने उल्लेख गर्नु भयो। उहाँले होटल व्यवस्थापन क्षेत्रमा रहेका अवसरहरुबारे समेत चर्चा गर्नुभयो। उहाँले भन्नुभयो ‘यो क्षेत्र तीव्र गतिमा बढिरहेको छ र हाम्रा विद्यार्थीहरुलाई यसका लागि तयार पार्नु हाम्रो जिम्मेवारी हो।’

कलेजका प्रबन्ध निर्देशक सन्जय आचार्यले स्वागत कार्यक्रमको क्रममा उक्त कलेजमार्फत विद्यार्थीले केवल पुस्तकी ज्ञान मात्र होइन, व्यावहारिक सीप र उद्योग सम्बन्धित अनुभव पनि प्राप्त गर्नसक्ने बताउनु भयो।

कार्यक्रममा विद्यार्थीहरुले होटल व्यवस्थापनसँग सम्बन्धित विभिन्न गतिविधिहरु अवलोकन समेत गरेका थिए । जसले उनीहरुको उत्साह र प्रतिबद्धता बढाएको विद्यार्थीहरुले बताए। हस्पिटालिटी क्षेत्रको अध्ययन गर्न तयार विद्यार्थीहरुलाई होटलको भ्रमणले व्यवहारिक ज्ञान बढाउने विश्‍वास कलेज प्रशासनले लिएको छ ।

यो स्वागत कार्यक्रमले नयाँ विद्यार्थीहरुलाई कलेज जीवनको शुरुवातमा नै प्रोत्साहन र प्रेरणा दिएको छ। डिइकम कलेजले आगामी दिनहरुमा पनि यस्ता रचनात्मक र प्रेरणादायी कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ।

डिइकम कलेजले कक्षा ११, १२ मा होटल म्यानेजमेन्ट पढाइरहेको छ भने एड्भान्स डिप्लोमाको समेत कोर्ष सञ्चालन गर्दै आएको छ।
पछिल्लो समय होटल म्यानेजमेन्ट प्रतिको मोह बढ्दो देखिन्छ। होटल म्यानेजमेन्टको अध्ययनले रोजगारीका व्यापक अवसरहरू प्रदान गर्ने गरेको छ। होटलहरू, रिसोर्टहरू, क्रुज लाइनहरू, रेस्टुरेन्टहरू, क्याटरिङ कम्पनीहरू, पर्यटन र यात्रा उद्योग, इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू लगायतमा यस विषय अध्ययन गरेका विद्यार्थीहरुको खपत सहजै हुने गरेको छ।

यसैगरी अन्तर्राष्ट्रिय करियरको सम्भावना समेत व्यापक रहेको छ। साथै आफ्नै होटल, रेस्टुरेन्ट वा पर्यटन व्यवसाय सुरु गर्न सक्ने ज्ञान र सीप समेत यस विषयले प्रदान गर्ने गरेको छ।

सम्बन्धित खवर