भोजपुरमा १३ करोडको शाक्यमुनि विहार निर्माण गरिदै : युवा व्यवसायि सचिन शाक्यद्वारा १ लाख नगद सहयोग

भोजपुरमा १३ करोडको शाक्यमुनि विहार निर्माण गरिदै : युवा व्यवसायि सचिन शाक्यद्वारा १ लाख नगद सहयोग

दिलीप पोखरेल/ उर्लाबारी
भोजपुरमा ईतिहास बोकेको शाक्यमुनि विहार निर्माण भैरहेको छ । बौद्ध धर्मसम्बन्धि गर्विलो ईतिहास बोकेको सो विहार भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारस्थित टक्सार बजारमा निर्माण भैरहेको निर्माण समिता संयोजक पुष्पधन शाक्यले बताए । उनका अनुसार करिव १३ करोड लागतमा निर्माण गरिने सो विहार अत्याधुनिक प्रविधिको सुविधासम्पन्न विहार बन्नेछ ।

स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका टक्सारवासीहरुसँग आर्थिक संकलन गर्दै सो विहारको निर्माण कार्य सम्पन्न गरिने निर्माण समितीकम संयोजक शाक्यले जानकारी दिए । उनकाअनुसार हालसम्म सो विहार निर्माणको लागि करिव ८५ लाख रुपैया नगद संकलन भईसकेको छ । यस्तै उनले सो विहार निर्माणको लागि हालसम्म राज्यको कुनै पनि निकायबाट सहयोग प्राप्त नभएको जानकारी दिए ।

वि.सं. २०८० साल माघ १८ गतेदेखी निर्माण गर्न सुरु गरिएको सो विहार पुर्ण रुपमा निर्माण हुन करिव ५ वर्ष लाग्ने निर्माण समितिले जनाएको छ । करिव ३ रोपनी जग्गामा निर्माण भैरहेको सो विहारमा ३ तलाको सुविधासम्पन्न भवनसहित छुट्टै भिक्षु आवास, अनागारिका आश्रामसहित छुट्टै अतिथी गृह समेत निर्माण गरिने संयोजक शाक्यले जानकारी दिए । यस्तै उनले सो भवनको दोस्रो तलामा वर्माबाट ल्याईएको सेतो ग्रेनाईडको साडे ४ फिटको बुद्धको मुर्ती स्थापना गरिनेछ भने तेस्रो तलामा आकर्षक चैत्य निर्माण गरिने निर्माण समितीले जनाएको छ । त्यस्तैगरी सो भवनको पहिलो तलामा सुविधासम्पन्न धम्महल हुनेछ जहा एकैपटक ४ सय ५० भन्दा बढिले पुजाअर्चना गर्न सक्नेछन् ।

यसैबिच उर्लाबारीका युवा व्यवसायी सचिन शाक्यले सो विहार निर्माणको लागि १ लाख ११ हजार १ सय ६ रुपैया नगद सहयोग गरेका छन् । आफ्नो पुर्खासमेत टक्सारवासी भएको र बौद्ध धर्मसम्बन्धि सो विहारले गर्विलो ईतिहास बोकेको बताउदै त्यसको पुन:निर्माण आवश्यक रहेको बताउदै शुक्रबार उनले सो रकम निर्माण समितिलाई हस्तान्तरण गरेका थिए ।

यस्तो छ टक्सारको ईतिहास:
तत्कालिन समयमा ठिकामाथा थुम भनेर परिचित सो स्थानमा वि.सं. १८७२ सालमा तामाको डोली (पैसा छाप्ने) अख्तियारी भएर खानी अड्डा आएको थियो । तामाको लागि प्रसिद्ध सो स्थानमा पाटनदेखी कालिगढहरु आएर तामा उत्खनन् गरेर पैसा छापिएको ईतिहास पाईन्छ । यसैक्रममा पाटनदेखी शाक्यमुलका कालिगढहरु भित्रिने क्रम बढ्दै गयो र त्यहा भाडावर्तन समेत बनाउने कार्यहरु हुन थालेको ईतिहासमा पढ्न पाईन्छ । यसैबिच सो स्थानमा टकमारी( तामाको पैसा बन्ने क्रम) हुनथालेसँगै सो ठाउलाई टक्सार नाम दिईएको थियो भने त्यो समयमा पाटनका अधिकांश संस्कृति समेत टक्सारमै भित्रिएको स्थानिय बताउछन् ।

यसैक्रममा कुलधन शाक्यले पाटीसहितको जग्गा दान गरेसँगै वि.सं. १९९३ सालमा शाक्यमुनी विहारको निर्माण गरिएको टक्सारवासी बताउछन् । विहार निर्माणसँगै सो विहार थेरवादी समुदायको पहिलो विहारको रुपमा परिचित छ । थेरवादी समुदायका पहिलो भिक्षु महाप्रज्ञासँगै तत्कालिन श्रामोनेर अमृतानन्द भिक्षुसमेत उपस्थित भएर करिव १८ दिनमा एउटा बुद्धको मुर्ती( प्रतिमा) निर्माण गरिएको स्थानिय सुरेश शाक्य बताउछन् ।

शाक्यले दान गरेको जग्गामा विहार निर्माण गरी वि.सं. १९९३ साल पौष ३० गते टक्सार बजार परिक्रमा गराएर ऐतिहासिक रुपमा सो मुर्ती स्थापना गरिएको थियो ।

स्थानियकाअनुसार थेरवादी समुदायका पहिलो गुरु महाप्रज्ञाले नै सो विहारको नाम शाक्यमुनी विहार नामाकरण गरेको बताईएको छ ।

यस्तै सो स्थानमा उक्त विहार स्थापना गर्नुअघि भने कुलधन शाक्यले धलौटको बुद्धको प्रतिमा निर्माण गरि नित्यपुजा गर्दै आएको स्थानिय शंकरध्वज शाक्य बताउछन् ।

यता गर्विलो ईतिहास बोकेको सो विहारमा सर्वप्रथम नेपाल मै पहिलो पटक रथयात्रा सहित बुद्ध जयन्ती मनाईएको निर्माण समितीका संयोजक पुष्पधन शाक्यले बताए ।

बौद्ध धर्मप्रतिको दृष्टिकोण:
नेपालमा प्राचिन कालदेखी नै बौद्ध धर्मप्रति शासकहरु असहिष्णु बन्दै आएको ईतिहास पाईन्छ । भगवान गौतम बुद्धको जन्म नेपालमै भएतापनि तत्कालिन समयमा बौद्ध धर्मको प्रचार हुन नसक्नुमा नेपालमा शासकीय व्यवहार नै वाधक बनेको विभिन्न पुस्तकहरुमा उल्लेख गरिएको पाईन्छ ।

‘बुद्ध मन्दिरको ईतिहास ‘ नामक पुस्तकमा उल्लेख भएअनुसार नेपालमा जयस्थिती मल्लको शासनकालदेखी नै शासकहरु बौद्ध धर्मप्रति असहिष्णु रहदै आएका थिए । वि.सं. १९८२ सालमा नेपालमा धेरै भिक्षुहरु आवतजावत हुन थालेकोसँगै थेरवादी बौद्ध धर्मप्रति शासकहरु झन् नकरात्मक भई भिक्षु महाप्रज्ञालाई देश निकाला समेत गरिएको सो पुस्तकमा उल्लेख गरिएको छ ।

राणाकालको अन्त्यसँगै नेपालमा थेरवादी बौद्ध धर्मको पुनर्जागरणको निम्ति नेपाली युवाहरु अग्रसर भएर भारत, वर्मा र श्रीलङ्कालगायतका मुलुकमा गई भिक्षु प्रवचित जिवन जिउन थालेको सो पुस्तकमा उल्लेख गरिएको छ । यसैक्रममा नेपालमा बिस्तारै बौद्ध धर्म फैलिदै गरेको ईतिहास पाईन्छ ।

यसैसँगै गर्विलो ईतिहास बोकेको सो विहार पछिल्लो समयमा कसैको चासोको विषय नबनेपछि हाल स्थानियहरु त्यसको स्तरोन्नती साथै पुन:निर्माण तथा आवश्यक निर्माणको लागि जुट्न थालेका छन् । यसैको परिणामस्वरुप अहिले टक्सारवासीहरुको संयुक्त पहलमा शाक्यमुनी विहार निर्माण समिती गठन भएको छ । सो समिती गठनसँगै विभिन्न सहयोगहरु प्राप्त हुन थालेको छ भने विहार निर्माण कार्य धमाधाम रुपमा अघी बढ्दै गरेको छ ।

निर्माण समितीले टक्सारदेखी बसाँइसरी देशका विभिन्न स्थानमा पुगेका टक्सारसमुदायहरुसँग सम्पर्क गरि भेटघाट गर्दै आर्थिक संकलन अभियानमा जोड्न सफल बन्दै आएको छ ।

आर्थिक संकलन अभियानमा विहार निर्माण समिती संयोजक शाक्यसँगै शाक्यमुनी विहारका अध्यक्ष प्रकाश चन्द्र शाक्य, टक्सार सेवा समाज काठमान्डौका अध्यक्ष नन्दराज शाक्य र कोषाध्यक्ष मोहनराज शाक्य, भोजपुर टक्सार समन्वय समाज ललितपुर उपाध्यक्ष कृष्णमान शाक्य, र दानमान शाक्य, राष्ट्रिय ज्ञानमाला समितीका अध्यक्ष रमना श्रेष्ठ र वर्माका पूर्व राजदूत भिमकृष्ण उदासलगायत रहेका छन् ।

सम्बन्धित खवर