प्रथम एशियन इन्भिटेशनल तेक्वान्दो च्याम्पियनशिपमा उर्लाबारीबाट १० जनाले सहभागिता जनाउने

प्रथम एशियन इन्भिटेशनल तेक्वान्दो च्याम्पियनशिपमा उर्लाबारीबाट १० जनाले सहभागिता जनाउने

प्रथम सिएचआईटिएफ एशियन इन्भिटेशनल तेक्वान्दो च्याम्पियनशिप -२०८१ मा उर्लाबारीबाट १० जना खेलाडीले सहभागिता जनाउने भएका छन् । आगामी जेठ ११ गतेदेखी काठमान्डौको दशरथ खेलकुद रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा उर्लाबारीबाट ३ जना सिनियर र ७ जना जुनियर खेलाडीको सहभागिता रहने सिएचआईटिएफ तेक्वान्दो मोरङ जिल्ला समितिका सदस्य गजेन्द्र धमला( सरोज) ले जानकारी दिए ।

उनका अनुसार सो प्रतियोगितामा सिनियरतर्फ उर्लाबारी-२ स्थित सुनपकुवा माविका दर्शन राई, विन्तिका लिम्बु र दीपसन तामाङ्ले स्पर्धा गर्नेछन् भने जुनियरतर्फ सुनपकुवाकै आशिका सिवाकोटी, साजन यादव र सुर्य चौधरीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै जुनियरतर्फ उर्लाबारी वडा नम्बर ३ स्थित सनसाईन बोर्डिङ् स्कुलका उत्सव बराल, रोयल राई र अनुष्का धमलासहित उर्लाबारी वडा नम्बर ७ स्थित नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयका युहाङ् लिम्बुले स्पर्धा गर्ने जिल्ला सदस्य धमलाले जानकारी दिए ।

नेपाल सिएचआईटिएफ तेक्वान्दो केन्द्रिय समितिको आयोजनामा आगामी जेठ १३ गतेसम्म संचालन हुने सो प्रतियोगितामा नेपालका ८ सय जना सिनियर र १ हजार २ सय जना जुनियर सहित जम्मा २ हजार जना खेलाडीले प्रतिस्पर्धा गर्ने तेक्वान्दो मोरङ जिल्ला अध्यक्ष तथा प्रशिक्षक युवराज भुजेलले जानकारी दिए । यस्तै उनले सो प्रतियोगितामा १ हजार जना विदेशी खेलाडीको उपस्थिती रहने जानकारी दिए । उनका अनुसार मोरङबाट १२ जना सिनियर र १३ जना जुनियरसहित जम्मा २५ जना खेलाडीले स्पर्धा गर्नेछन् ।

यस्तै सो प्रतियोगितामा १५४÷१५४ स्वर्ण पदक र रजत पदक, ३ सय ८ काँस्य पदकसहित ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा ९ वटा एशियन राष्ट्रहरुको सहभागिता रहने बताईएको छ ।

यसैबिच उर्लाबारीबाट प्रतिस्पर्धामा जाने खेलाडीहरुले सनसाईन बोर्डिङको प्राङ्गणमा नियमित प्रशिक्षण गर्दै आएका छन् । उनीहरुलाई प्रशिक्षक दिनेश विकले नियमित प्रशिक्षण दिदै आएको तेक्वान्दो मोरङ जिल्ला समितिका सदस्य देवराज राईले जानकारी दिए ।

सम्बन्धित खवर