कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

दिलीप पोखरेल / उर्लाबारी
कर्तव्य ज्यान मुद्धामा फरार रहेका ३ जना प्रतिवादीहरु पक्राउ परेका छन् । ईकाका प्रहरी कार्यालय उर्लाबारीका ईन्चार्ज प्रहरी निरिक्षक देवेन्द्र दासको कमाण्डमा खटिएको टोलीले मोरङको मिक्लाजुङ र झापाको काँकरभिट्टाबाट तिन जनालाई पक्राउ गरेको हो ।

मिक्लाजुङ वडा नम्बर १ का ४८ वर्षिय जितबहादुर राई, ४१ वर्षिय ज्ञानबहादुर राई उर्फ ‘गंगा’ र ४० वर्षिय लक्ष्मण राईलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ जितबहादुर र ज्ञानबहादुर मिक्लाजुङस्थित आफ्नै निवासबाट सोमबार राती ११ बजे पक्राउ परेका हुन् भने लक्ष्मण राई भने मंगलबार विहान ९ बजे काँकरभिट्टाबाट पक्राउ परेका हुन् ।

कर्तव्य ज्यान मुद्धामा अदालतबाट जन्म कैद सजाय सुनाईए पनि फरार रहेका उनीहरुलाई पक्राउ गरेर जेल पठाइएको प्रहरी निरिक्षक दासले बताए। ज्यान मारेको अभियोगमा उनीहरु तिनै जनालाई जिल्ला अदालत मोरङले २०७७ साल फागुन १८ गते जन्म कैंद सजाय हुने फैसला सुनाएको थियो।

उनीहरुलाई साविक रमिते-४ हाल मिक्लाजुङ गाउपालिका वडा नम्बर १ मा वि.सं. २०६४ साल जेठ २० गते रातीको समयमा ३८ वर्षिय सन्तोष राईलाई लाठ्ठी र भाटाले निर्घात कुटपिट गरि हत्या गरेको अभियोगमा अदालतले कैद सजाय हुने फैसला सुनाएको थियो ।

सो राती उनीहरुले छिमेकी हर्कराज राईको घर पैँचोमा भेला भई आन्तरिक विवाद उत्पन्न गरी सन्तोषको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि उनीहरुले केमुना भन्ज्याङको जंगलमा खाल्डो खनि सन्तोष लासलाई पुरेर राखेको अवस्थामा प्रहरीले लास फेला पारेको थियो ।

यस्तै वि.सं. २०७८ साल पुष २३ गते उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो भने वि.सं. २०८० साल साउन १६ गते सर्वोच्च अदालतले समेत सो फैसलालाई सदर गरी तिनै जनालाई जन्म कैद सजाय ठहर गरेको थियो ।

अदालतको सजाय सुनाइए पनि उनीहरु हालसम्म फरार रहेका थिए । पक्राउ परेका प्रतिवादीलाई मंगलबार जिल्ला अदालत मोरङ्मा उपस्थित गराएर कारागार चलान गरिएको प्रहरी निरिक्षक दासले बताए।

यसैबिच उर्लाबारी प्रहरीले विगतका विभिन्न अपराधिक गतिविधीमा संलग्न रहि दोषी ठहरिएका फरार अभियुक्तहरुको खोजीमा आफ्नो सकृयता देखाएको छ । प्रहरीले चालु आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका ५१ जना अभियुक्तहरुलाई पक्राउ गरी कारागार चलान गर्न सफल भएको छ । यस्तै उर्लाबारी प्रहरीले अपराधिक उपद्रव मुद्धामा समेत तारिफयोग्य सफलता हाँसिल गरेको छ ।

सम्बन्धित खवर