उर्लाबारीका सुमन गौतम दुई महिनापछि परिवारको सम्पर्कमा

उर्लाबारीका सुमन गौतम दुई महिनापछि परिवारको सम्पर्कमा

१० फागुन/ उर्लाबारी
उर्लाबारी वडा नम्बर-२ डुम्रेका ३४ वर्षिय सुमन गौतम परिवारको सम्पर्कमा आएका छन् । गत पौष ७ गते शनिबार विहान ९:३० बजे घरबाट शनिबारे बजार सब्जी किन्न गएका गौतम दुई महिनासम्म पनि परिवारको सम्पर्कमा आएका थिएनन् ।

परिवारस्रोत अनुसार गौतम गत सोमबार राती ११: ३० बजे परिवारको सम्पर्कमा आएका हुन् । उनले १२ गते घर फर्किने जानकारी गराएको गौतमका भाई खेम गौतमले जानकारी दिए ।

दाई कसरी सम्पर्कविहिन हुन पुगे भन्ने सवालमा उनका भाई खेम यसरी बताउछन् ” दाजु आफुसँग ९ सय रुपैया बोकेर बजारबाट आलु र टमाटर किन्न साईकलमा सवार भई पुग्नुभएछ । आफुले केहि गर्नुपर्छ भन्ने सोचले साईकल समेत बजार मै छोडेर सार्वजनिक बस चढी विराटनगर पुग्नुभएछ । त्यसपछि विराटनगरमा ओर्लेर केहि आम्दानिको स्रोत खोज्ने क्रममा भौतारिनुभएछ । ३ दिनसम्म म्याजिक भ्यानमा सह चालकको रुपमा काम गरि उहाँ छिमेकी देश भारतमा पुग्नुभएछ । त्यसपछि स्थानिय एक होटलमा वेटरको काम गर्न थाल्नुभएछ ।”

भाई खेमका अनुसार उनका दाजु सुमन आफुसँग मोवाईल फोन नभएकोले परिवारसँग सम्पर्कमा नआएका हुन् । ‘ दाईको फोन पहिलै घरमा हराएको थियो । उहाँले गत फागुन ६ मा नयाँ फोन किनेपछि फेसबुकमार्फत परिवारको सम्पर्कमा आउनुभएको हो ।’ खेम बताउछन् ,” उहाँलाई आफ्नो स्वयम भाईको निधनबारे समेत जानकारी रहेनछ ।’

सम्पर्कविहिन बनेका सुमनका भाई सुजन गत पुष १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल अगाडि ‘एयरपोर्ट होटल’मा साँझ ४ बजे झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका थिए ।

परिवारका अनुसार सुजन नेपाल फर्किएकोबारे घरमा कसैलाई थाहा नभएको तर अचानक गौश्वला प्रहरीले फोन गर्दा थाहा भएको थियो । उनी गत असार अन्तिम साता मात्रै वैदेशिक रोजगारीका लागी दुबई गएका थिए ।

परिवारस्रोत अनुसार सुमन करिव ११ वर्षपछि गत कार्तिक १२ मा नेपाल फर्किएका थिए । उनी वैदेशिक रोजगारीको लागि साउदी अरब पुगेका थिए । उनी डुम्रेस्थित घरमा आफ्नो बुबाआमासँग बस्दै आएका थिए ।

( सुमन खेम गौतमको बडा बाका जेठो छोरा हुन् ।)

सम्बन्धित खवर