पशुपति आमाविद्वारा राष्ट्रिय सेवा दलको क्याडेट तालिममा सहभागीलाई विदाई

पशुपति आमाविद्वारा राष्ट्रिय सेवा दलको क्याडेट तालिममा सहभागीलाई विदाई

उर्लाबारी/ उर्लाबारी–७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको ४९ औँ जुनियर डिभिजनको तालिममा सहभागी विद्यार्थीहरुलाई विदाई गरिएको छ । मंगलबार विद्यालयमा विदाई तथा शुभकामना कार्यक्रम आयोजना गरि क्याडेट विद्यार्थीहरुलाई हौसला प्रदान गरिएको छ।

गत साउन १ गतेदेखी सुरु भएको सो तालिम ७९ दिन विद्यालयको प्रांगणमा संचालन भईसकेको छ । तालिमअन्तर्गतको बाँकी २१ दिन विद्यालयबाहिर सञ्चालन हुने भएकोले आज विद्यालय परिसरमा उनीहरुलाई विदाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले विद्यालयस्तरमा राष्ट्रिय सेवा दलको तालिम संचालन गर्न आवश्यक रहेको बताउदै उनले यसबाट विद्यार्थीहरुको क्षमता विकास, स्वास्थ्य र फूर्तीलो बनिनुका साथै भुकम्प, बाढिपहिरो लगायत आगलागीमा समेत स्वयमसेवकको रुपमा खट्न सक्ने जनशक्ति तयार गर्न सकिने धारणा व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाली सेना भैरव गणका मेजर प्रविण थापाले राष्ट्रिय सेवा दलको विषयमा प्रशिक्षार्थीहरुलाई जानकारी गराएका थिए । राष्ट्रिय सेवा दलमा आबद्ध भएपछि विद्यार्थीहरुमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि, अनुशासित र क्षमतावान भई राष्ट्रिय एकताको भावनाको विकासमा टेवा पुग्ने उनले बताए ।

यस्तै, उर्लाबारी–७ का वडाध्यक्ष उर्मिला थापा , अभिभावक रुद्र न्यौपाने र निरुपा निरौलालगायतले शुभकामना मन्तव्य राख्दै विद्यार्थीलाई पढाइसँगै अन्य क्रियाकलापमा सहभागी गराइ व्यक्तित्व विकासका अवसर प्रदान गर्दै जानुपर्ने बताए । उनीहरुले अनुशासित र संयम भएर बाकि तालिम पूरा गर्न आग्रह गरे ।

सो अवसरमा विद्यार्थीहरुले एनसीसी क्याडेट खुकुरी ड्रिल , परेड, तेक्वान्दो पुम्से र एरोविक नृत्य प्रदर्शन गरेका थिए ।

विद्यालयका संस्थापक निर्देशक विजयकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य स्कूल संयोजक श्रेया श्री थापाले राखेकी थिईन् ।

राष्ट्रिय सेवा दलका लागि मोरङबाट पशुपति अमावि र पथरी शनिश्चरेको भुपु सैनिक स्कुल छनोट भएका थिए । तालिममा पशुपति अमाविका ३६ जना विद्यार्थीहरुको सहभागीता रहेको प्रिन्सिपल आनन्द कार्कीले बताए ।

९० दिनसम्म सञ्चालन हुने सो तालिमअन्तर्गत बाँकी २१ दिन यांसिला क्याम्पमा सञ्चालन हुने जनाइएको छ।

सम्बन्धित खवर