वडा नम्बर ३ मा लुडो र क्यारेम बोर्ड प्रतिबन्ध, राती ८ बजेपछि होटल चलाउन नपाईने

वडा नम्बर ३ मा लुडो र क्यारेम बोर्ड प्रतिबन्ध, राती ८ बजेपछि होटल चलाउन नपाईने

दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारी वडा नम्बर ३ मा अबदेखी लुडो र क्यारेम बोर्ड खेल्न प्रतिबन्ध गरिएको छ । आईतबार वडा कार्यालयमा बसेको वडा समितीको बैठकले वडाभित्र उक्त खेलहरु खेल्न प्रतिबन्ध लगाईने निर्णय गरिएको वडाध्यक्ष भिष्मराज बुढाथोकीले जानकारी दिए ।

यस्तै सो बैठकले वडामा संचालित सम्पूर्ण होटल राती ८ बजे अनिवार्य रुपमा बन्द गरिनुपर्ने निर्णय गरेको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

आईतबार बिहान वडा कार्यालयमा वडाध्यक्ष बुढाथोकीसहित पूर्व वडाध्यक्षद्वय गञ्ज बहादुर कार्की र पारसमणी कुँइकेल , मोरङ जिल्ला समन्वय समिती सदस्य मित्र ढकाल, वडा सदस्यद्वय ज्योति धिमाल र कृष्ण थापा, अस्थाई प्रहरी चौकी मंगलबारेका निमित्त प्रहरी इन्चार्ज प्रहरी वरिष्ठ हवल्दार चन्द्र भण्डारी, नगर पहरी प्रमुख याम कार्कीलगायतकाे उपस्थितीमा बसेको बैठकले सो निर्णय गरिएको बताईएको छ ।

वडाध्यक्ष बुडाथोकीका अनुसार उक्त खेलहरु वडामा पूर्ण रुपमा खेल्न प्रतिबन्ध गरिएकोले कतै खेलेको या खेलाईएको पाईए ५ सय देखी १ हजार रुपैयाँसम्म जरिवामा लगाईने जनाईएको छ ।

यस्तै उनले सो बैठकले वडाभित्र संचालित सम्पूर्ण होटल राती ८ बजेदेखी अनिवार्य बन्द गर्नुपर्ने बताउदै यदि कसैले खोलेको पाईए १ हजार देखी ५ हजार रुपैयाँसम्म जरीवाना लगाईने बडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सो निर्णय कार्यन्वयनको लागी वडाले भोली एक सूचना जारी गर्ने बताउदै उनले वडाका सम्पूर्ण होटल व्यवसायीहरुलाई समेत पत्रचार गर्ने बताए ।

स्थानियस्तरबाट युवाहरुले उक्त खेलहरु खेल्ने क्रममा बढि होहल्ला गर्ने, अशान्ती मचाउने, अनावश्यक रुपमा समय व्यतित गर्ने, लागुऔषध दुर्व्यसनीको सिकार बन्ने र झैझगडा गर्ने गरेका गुनासाहरु वडामा पटकपटक आएकोले यस्तो निर्णय गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

यस्त‌ै राती ८ बजेपछि होटल अनिवार्य रुपमा बन्द गर्नुपर्ने सवालमा वडाध्यक्ष बुढाथोकीले रातको समयमा युवा तथा प्रौढहरु मद्यपान गरेर झैझगडा गर्ने र कुटपिटको घटना समेत बढ्न थालेकोले त्यसको न्युनिकरणको लागि वडाले यस्तो निर्णय गरेको बताए ।

पछिल्लो समय वडामा युवाहरु गलत संगत र लागुऔषध दुर्व्यसनीमा फसेकोले त्यसको न्युनिकरणको लागी वडाले विभिन्न कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित खवर