प्रहरी देखेपछि जुवाडेकाे भागाभाग

प्रहरी देखेपछि जुवाडेकाे भागाभाग

रौतहट, मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईकाे निर्देशनपछि रौतहटको कटहरियास्थित अवैध रुपमा सञ्चालन हुँदै आएको कौडा जुवा नियन्त्रणमा आउने भएको छ। डीआईजी भट्टराईको निर्देशनमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बुधबार डीएसपी वीरेन्द्र पासवानको नेतृत्वमा टोली कटहरियास्थित लालबकैया नदीको पुल छेउ पुगेपछि जुवाडेहरुको भागाभाग भएको थियो।

पछिल्लो एक सातादेखि कटहरिया बजारभन्दा झण्डै दुई किलोमिटर पश्चिम लालबकैया नदीको पुल छेउ केराघारीमा  लाखौं लाखको कौडा जुवा हुँदै आएको थियो। स्थानीय एकजना मेयर प्रत्याशीले सेटिङ मिलाएर हरिन्दर कुर्मीको रेखदेखमा जुवा खेलाइरहेका थिए ।

डीएसपी पासवानका अनुसार जुवा सञ्चालन गर्ने समूहले उक्त स्थानको झण्डै डेढ़ दुई किलोमटर वरपर मानिस राखेर रेकी गर्न लगाएका थिए। उनीहरूले नै प्रहरीलाई देखेपछि जुवाडेलाई फाेन गरेर खबर गरेपछि उनीहरु भाग्न सफल भएको डीएसपी पासवानले बताए । उक्त स्थानबाट कौडा जुवा खेलाउन प्रयोग हुने केही सामान बरामद भएको उनले  जानकारी दिए ।

एक सातादेखि केराघारीमा दैनिक बिहान १० बजेदेखि बेलुकीसम्म कौडा जुवा भइरहेको थियो। त्यहाँ जुवा खेल्न सर्लाही र बाराका जुवाडेहरु आउनेगरेका थिए। त्यहाँ हुने कौडा जुवाबाट प्रहरी र पत्रकारको नाउँमा दैनिक १८ हजार रुपैयाँ उठाइने गरेको एकजना सहभागीले  बताए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी जनक भट्टराईले जुवा कौडा खेल्ने खेलाउने जो कोहीलाई कडा कारबाही हुने चेतावनी दिएका छन।  उनले कटहरियामा भइरहेको जुवाबारे अनुसन्धान भइरहेको बताए । न्युज कारखाना

सम्बन्धित खवर