रबिन्द्र बराल, रंगेली
सिमा क्षेत्रमा निगरानी फितलो हुन थालेपछि अबैध रुपमा आउने कुखुरा, माछा लगायतका सामग्री निर्वाद रुपमा भित्रिन थालेका छन् । अवैध रुपमा कुखुरा नेपाल भित्रिदा स्थानीय कुखुरा पालक किसानलाई भने मार परेको छ ।
मोरङको रंगेली ५ मा पर्ने आमगाछी, चाँदनी चौक लगायतका क्षेत्रबाट दैनिक रुपमा कुखुरा, माछा अवैध तरिकाबाट भित्रिने गरेको स्थानीय केशब कुमार माण्डलले बताए । मण्डल १२ वर्षदेखि कुखुराको व्यवसाय गर्दै आएका छन् । भारतबाट अबैध रुपमा आउने कुखुरा बजारमा सस्तोमा पाइने भएपछि स्थानीयका उत्पादनले बजार पाउन छाडेको मण्डलको अनुभव छ ।
आमगाछीमा रहेको शसस्त्र प्रहरी बिओपीको क्षेत्रमा पर्ने सिमा क्षेत्रमा कडाइ नगरेपछि अबैध रुपमा भारतीय उत्पादन नेपाल भित्रिने गरेको स्मृति कृषि फारामका सञ्चालक लक्ष्मण भण्डलले बताए । डिउटीमा रहेका शसस्त्र प्रहरीलाई प्रलोभनमा पारेर भारतीय व्यापारीले दैनिक ६० देखि ९० केजिसम्म अबैध कुखुरा नेपाल भित्राउने गरेको मण्डलको आरोप छ ।
भारतसंगको सिमाक्षेत्र रतुवामाई, सुनवर्षी, रंगेली, धनपालथान लगायतका सिमा क्षेत्रमा कडाइ नगर्दा नेपालमा व्यावसाय गर्ने कुखुरा पालक किसान मारमा पर्ने गरेको केशव मण्डलले बताए ।
आफुले उत्पादन गरेको सामान उचित मुल्यमा बेच्न नपाउदा पेसा छोडेर बिदेशीन बाध्य रहेको कमल कृषि फार्मका सञ्चालक कमल सिंह खड्काले बताए । भारतबाट आउने कुखुरा १६० रुपैया प्रतिकेजीमा आउने तर नेपालमा उत्पादन भएको कुखुरालाई २३० प्रतिकेजी नहाले कृषकको लगानी पनि उठ्न मुस्किल हुने गरेको छ । भारतबाट आउने अबैध कुखुराको मासु बजारमा २०० रुपैयामा पाइने गरेको छ ।
सिमा क्षेत्रमा हुने अबैध सामान ओसार पसारका विषयमा शसस्त्र प्रहरी भने पन्छिन खोजेको छ । सिमामा कुनैपनि अबैध गतिबिधि भएको भए फोटो खिचेर ल्याउन भन्दै बिओपी धनापट्टीका प्रहरी निरीक्षक बालकृष्ण श्रेष्ठ पन्छिए । आफ्नो ४ किलोमिटर सुरक्षा क्षेत्रमा कुनैपनि अबैध ओसार पसार नभएको श्रेष्ठको जिकिर छ तर किसान भने फितलो सुरक्षाका कारण आजित भएको बताउदै आएका छन् ।