मोरङको उर्लाबारी नगरपालिका–७ ईटहरा रोडमा कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइतेभएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी ७ का ४३ वर्षीय तपन पण्डित रहेका छन् । पण्डितको काठमाडौं स्थीत कृर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा गएराति २ः४५ बजे मृत्यु भएको ईलाका प्रहरि कार्यालय उर्लाबारिका प्रहरि निरिक्षक देबेन्द्र दासले बताए ।
दासका अनुसार काठमाडौं स्थित कीर्तिपुर वर्न अस्पतालको आईसियु उपचार कक्षमा उपचाररत ९ जनामध्ये पण्डितको मृत्यु भएकोहो ।
स्थानिय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।
कार्कीको घरमा सुनचाँदी पसल सहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो । सुनचाँदी पसल तथा भायनेटको कार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको थियो ।
आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो । आगलागी नियन्त्रणमा लिने क्रममा अचानक कार विष्फोट भएपछि आगो निभाउन खटिएकाहरु घाइते भएका थिए ।
आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ