मोरङको उर्लाबारी नगरपालिका–७ मा कार्तिक २६ गते लक्ष्मी पूजाको राति भएको आगलागी घटनाका गम्भिर घाइतेहरुका विषयमा आजको संसद बैठकमा कुरा उठेको छ ।
घाइतेहरुलाई थप उपचारमा लैजाने व्यवस्था मिलाउन कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले माग गर्नुभएको हो ।
प्रदेशसभाको शुन्य समयमा बोल्दै सांसद पालुङ्वाले काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत मध्ये गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको र उनीहरुलाई थप उपचारका लागि लैजाने व्यवस्था मिलाउन उहाँले सरकारसंग माग गर्नुभएको हो ।
पालुङ्वाले आगलागीमा परेका सम्पूर्ण घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । उहाँले घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको जानकारी संसदमा गराउनुभएको छ । पण्डितको काठमाडौं स्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो ।
स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा गत कार्तिक २६ गते लक्ष्मी पु्जाको दिन राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो । आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।
आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको छ । २४ जनाको कीर्तिपुर वर्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ भने उपचाररत मध्ये गम्भीर अवस्थाका ८जनाको आईसीयूमा उपचार भइरहेको छ । सम्पूर्णको खर्च प्रदेश सरकारले ब्यहोर्ने जनाइसकेको अवस्था छ ।