जुम्ला, जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हिमा–१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो । भे १ ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ देवारगाउँ जाँदै गरेको अवस्थामा आज बिहान हिमा–१ बड्कीमा दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा परी सोही ठाउँका ४१ वर्षका नन्द रोकाया घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरीले जनाएको छ ।