दादुरा रुबेला भ्याक्सिनबारे अन्तरक्रिया, कार्यान्वयन गर्न कठिन

दादुरा रुबेला भ्याक्सिनबारे अन्तरक्रिया, कार्यान्वयन गर्न कठिन

पथरी, दादुरा रुबेला रोग बिरुद्धको भ्याक्सिन लगाउने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोरङको पथरी शनिश्चरे ५ स्थित अमरसिंह माविमा अभियानका बारेमा सरोकारवालाहरुसंग सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नगरका जनस्वास्थ्य सहायक निरीक्षक एकराज खत्रीले सहजिकरण गर्नुभयो । नगरमा दादुरा रुबेलाका बिरामी एकजना पनि नभएको तर मोरङ जिल्लामा यस सम्बन्धी बिरामीहरु देखा परेपछि पथरी शनिश्चरेमा पनि अभियान चलाउनुपरेको खत्रीले बताउनुभयो ।

अभियान यहि साउन २८ गतेदेखि साउन ३१ गतेसम्म चल्ने खत्रीले जानकारी दिनुभयो । दादुरा रुबेला खोपमा ६ महिना पुरा भएका र १५ वर्ष मुनिका सबै बालबालिका सहभागी हुनेछन् । पथरी शनिश्चरे ५ मा करिब १ हजार ६ सय बालबालिका यस अभियानमा जोडिने हसन्दह स्वास्थ्य चौकी इन्चार्ज डगेन्द्र घोर्सानेले बताउनुभयो ।

यो अभियान सम्पन्न गर्नका लागि वडा नं. ५ मा हाल ४ वटा केन्द्रहरु निर्धारण भएका छन् । प्राविधिक रुपमा धेरैवटा केन्द्र सञ्चालन गर्न नसक्ने भएपछि सतप्रतिशत खोप कार्यान्वयनमा समस्या हुने देखिएको छ । प्राविधिक रुपमा भ्याक्सिन लिएर हिड्न समस्या रहेको, स्वास्थ्यमा कर्मचारी कम रहेकाले केन्द्र थप गर्न कठिन, बजेटको सिमितता जस्ता कुरा रहेको इन्चार्ज घोर्सानेले बताउनुभयो । एउटा केन्द्रमा खोप लगाउनका लागि ४–५ किलोमिटरसम्म हिड्नुपर्ने अवस्था भएपछि कार्यान्वयनमा समस्या रहेको सरोकारवालाहरुले प्रतिकृया राखेका छन् । केन्द्र थप गर्ने विषयमा समितिले बैठकमा छलफल गर्ने वडाध्यक्ष चेतेन्द्र खड्काले बताउनुभयो ।

सम्बन्धित खवर