बेलबारी, प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) सहित मोरङको कानेपोखरीबाट २ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध हेरोइनसहित कानेपोखरी–७ का ४२ वर्षीय चन्द्र कार्की र ४५ वर्षीय शुक्र लिम्बूलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । कार्की र लिम्बू को २९ प २८७५ नम्बरको मोटरसाइकलमा सवार थिए ।
शंका लागेपछि प्रहरीले बिहीबार साँझ ५ः३० बजेतिर नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । साथबाट ७ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको डीएसपी दाहालले बताए । पक्राउ पर्नेमध्ये कार्की मोटरसाइकल चालक हुन् । पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । दुवै जनाविरुद्ध शुक्रबार अदालतबाट ५ दिनको म्याद थप गरिएको जानकारी डीएसपी दाहालले दिए ।