६६ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया र सम्मान

६६ औं राष्ट्रिय सहकारी दिवसमा अन्तरक्रिया र सम्मान

पथरी, ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ पथरीशनिश्चरेमा ६६ औं राष्ट्रिय सहकारी दिवस २०७९ सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा आज पथरीशनिशचरे नगरपालिका नगरकार्यपालिकाको सहकारी शाखाले सो कार्यक्रमको आयोजना गरेको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षता भएको सो कार्यक्रममा प्रमुख आतिथ्यता नगर प्रमुख मोहनप्रसाद तुम्वापोको रहेको थियो । उद्घाटन कार्यक्रममा सहकारी कर्मचारी संगठन पथरीका अध्यक्ष गणेश बाछाना, सहकारी सञ्जाल पथरीशनिश्चरेका सदस्य महेन्द्र ढुंगाना, लेखा संयोजक पिताम्वर वस्ती र नगरका आर्थिक विकास समिति संयोजक उद्धवराज बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै नगरका सहकारी शाखा प्रमुख केशवदेवी धमलाले कार्यक्रमको औचित्य बारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा नगर भित्रका १० वटा सहकारी संस्थाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने सहकारीहरुमा वडा नं. ८ को सिद्धेश्वर, वडा नं. ३ को हरियाली, वडा नं. १० को सिरिजंघा, वडा नं. ३ को पाथीभरा, वडा नं. ५ को श्री साना किसान, वडा नं. ९ को कुशेचौरी कृषि सहकारी, वडा नं. १० को सफलता लघु उद्यमी कृषि सहकारी, वडा नं. २ को चौतारी सामाजिक उद्यमी महिला र वडा नं. ७ को चभतलुङ कृषि सहकारी रहेका छन् ।

सम्मानित हुने सहकारीहरुलाई प्रमुख अतिथि तुम्वापोले दोसल्ला र प्रमाण–पत्रले सम्मान गर्नुभएको थियो । उद्घाटन कार्यक्रम पश्चात् ‘सम्पत्ति सुद्धिकरण अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको थियो । सम्पत्ति शुद्धिकरण सम्वन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशिका २०७४ पछिल्लो संसोधन समेतको विषयमा नगर भित्र कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई प्रशिक्षण दिइएको थियो ।

सपना कार्कीले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सहजीकरण जिल्ला वचत तथा ऋण सहकारी संघ बेलबारी मोरङका तालिम अधिकृत रामकुमार दाहालले गर्नुभएको थियो ।

सम्बन्धित खवर