अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको अवलोकन भ्रमण

अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको अवलोकन भ्रमण

पथरी, करुणा फाउण्डेसन नेपालको दातृ निकाय नेदरल्याण्डबाट आउनुभएका डान जोर्जियन र उनीहरुको समूहले पथरीशनिश्चरे नगरपालिकाको अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको अवलोकन भ्रमण गर्नुभएको छ ।

आज नगरपालिकामा डान जोर्जियनका साथमा रमेश पौडेल, डा. भगवान कोइराला, करुणा फाण्डेसनका र्निदेशक दिपकराज सापकोटा, सह–निर्देशक योगेन्द्र गिरी लगायत करुणा फाउडेसनका प्रतिनिधिहरुलाई नगरले स्वागत गरेको हो । नगरका तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नगर प्रवक्ता नविन कार्की लगायतले स्वागत गर्नुभएको थियो । स्वागत पश्चात् नेदरल्याण्डबाट आउनुभएका दातृ निकायका पदाधिकारीहरुले नगरमा भएका अपाङ्गताहरुको बारेमा जानकारी लिनुभएको थियो ।

नगरका महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको नगर स्तरीय समितिको अध्यक्ष राजेन्द्र दाहाल, सिविआर कार्यक्रम सहजकर्ताहरु मनिता थापा, वर्षा मण्डल र सम्झना वर्देवाले सहभागिता जनाएका थिए । सहजकर्ता मनिता थापाले कार्यक्रममा भएको चुनौती र सफलताका कुराहरु प्रष्टसँग राख्नुभएको थियो ।

यस्तैगरी अपाङ्गता भएकाहरुका लागि सामग्री वितरण पनि गरिएको थियो । वडा नं. २ का युवराज गौतम, वडा नं. ९ का डुकबहादुर राई र ३ का जितबहादुर श्रेष्ठलाई ह्वील चियर वितरण गरिएको थियो । यस्तै वडा नं. २ का चन्द्रकुमार राई र मिना लिम्बुलाई एल स्टिक सहायक सामग्री पनि वितरण गरियो । यसैगरी सोही समूहले अपाङ्गता भएका व्यक्तिको नगर स्तरीय समितिका प्रतिनिधि १० वटै वडाका मिलीजुली समूहका प्रतिनिधिहरुसँग सिविआर कार्यक्रमको विषयमा छलफल सम्पन्न गरेको छ। सो पश्चात् जन्मदोष पहिचान भई उपचार पाएर सुधार भइरहेको बच्चाहरुको प्रत्यक्ष रुपमा भेटघाट कार्यक्रम पनि सम्पन्न गरिएको छ ।

सम्बन्धित खवर