जिल्ला कारागार मोरङका चौकीदार अभिषेक गिरी थुनामुक्त भएका छन् । कारागारका जेलर ध्रुवप्रसाद कोइरालाका अनुसार गिरी आइतबार थुनामुक्त भएका हुन् ।
स्थानीय प्रशासनको सिफारिसमा कारागार व्यवस्थापन विभागले गिरीलाई कैदमुक्त गर्न आदेश दिएको थियो ।
गिरीलाई २०७० सालमा युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर फिरौती रकम मागेको घटनामा अदालतले दोषी ठहर गरेको थियो ।
कारागारभीत्रै आपराधिक गतिविधि सञ्चालन गरेर आतंक खडा गरेकै कारण गिरीलाई २०७४ साल चैत २३ गते मोरङबाट सरुवा गरेर काठमाडौंको डिल्ली बजार कारागार स्थानान्तरण गरिएको थियो ।
तर, तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा २०७८ साल मंसिर ९ गते गिरीलाई पूनः मोरङ कारागार ल्याइएको थियो ।