१६ वर्षीय बालव्यासाचार्य युगलकिशाेर अधिकारी

१६ वर्षीय बालव्यासाचार्य युगलकिशाेर अधिकारी
१६ बर्ष हुँदै गरेको केट्यौलो उमेर । कमिज सुरुवालसँगै ढाका टोपी र गम्छामा सजिएर बाल्यावस्थामै सङ्गीतमय सप्ताहव्यापी पुराण वाचन गर्दैछन् मोरङको पथरीशनिश्चरेका युगलकिशोर अधिकारी उनले ‘बाल व्यासाचार्य’ को उपाधिमा आफूलाई स्थापित गर्दैछन् यही माघ २९ गतेदेखि स्वगृहमा आयोजित श्रीमद्भागवत महापुराणको पाठपारायणसँगै सुमधुर स्वरमा कथा वाचन गरेर ।
पिता युवा दार्शनिक आचार्य पण्डित केवलकृष्ण अधिकारी र माता लक्ष्मीदेवी खनाल अधिकारीको ज्येष्ठ सुपुत्रका रूपमा २०६३ वैशाख २९ गते जन्मेका युगलकिशोरले औपचारिक विद्यालयीय शिक्षासमेत आर्जन गरिरहेका छन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययन गरिरहेका उनले आफ्नै बुबा पं. केवलकृष्णबाट प्रेरित भएर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको मूलपाठ पारायण र कथावाचन गर्ने जमर्को गरेको बताएका छन् । बाल व्यासाचार्य अधिकारीले भने, ‘पिताको प्रेरणाबाट सुरु गरेको भागवत कथावाचनमा मैले मूलतः मानवहितका लागि ज्ञान र विज्ञानको समन्वय गर्दै दृष्टान्त प्रस्तुत गर्ने गरेको छु ।
’पिता केवलकृष्णसँगै धरानका पण्डित दीपक पराजुलीले समेत उनको भागवत अध्ययनमा सहजीकरण गर्नुभयो । पण्डित पराजुलीले सञ्चालन गर्नुभएको भागवतसम्बन्धी अनलाइन कक्षामा युगलकिशोरले उत्साहजनक सहभागिता जनाएका थिए । त्यसपछि भने युगलकिशोर १ घण्टामै भागवतका १० भन्दा बढी अध्यायको शुद्धसँग पाठपारायण गर्न सक्षम बने भने दैनिक कथानकको क्रमअनुसार प्रसङ्ग मिलाएर स्पष्टसँग बुझाउँदै विवेचना गर्न पनि योग्य भए । यही सन्दर्भ उजागर गर्दै पं. केवलकृष्ण भन्नुहुन्छ, ‘शुद्धसँग भागवत वाचन गर्ने र सोको अर्थ विश्लेषण गर्न सक्ने क्षमताका आधामा छोराका चाहना र रुचि मुताविक उसलाई व्यासाचार्य बनाउने गरी अहिले घरमै भागवत पुराणको आयोजना गरेका हौँ ।’
सो त युगलकिशोरले एकैपटक व्यासासनमा बसेर भागवत पुरण वाचन गर्ने ल्याकत राखेका होइनन् । यसअघि नै उनले कर्मकाण्ड, व्याकरण र ज्योतिषसम्बन्धी ज्ञान पनि आर्जन गरिसकेका छन् । २०६९ सालदेखि सात वर्षसम्म विश्वनाथ संस्कृत गुरुकुल (पथरीशनिश्चरे–२, देवीगञ्ज) मा मूलतः कर्मकाण्ड र व्याकरण पढेका अधिकारीले सोही समयमा रुद्री, दुर्गा सप्तशती (चण्डी), गीता, वेद र लघुसिद्धान्त कौमुदीजस्ता धार्मिक ग्रन्थको गहिरो ज्ञान आर्जन गरेका थिए ।
पटक–पटकको कोरोनाकालमा भएको लकडाउनमा उनले मावलका हजुरबुबा कुलचन्द्र खनाल (बुधबारे, झापा) बाट ज्योतिषसम्बन्धी ज्ञान आर्जन गरे भने संस्कृत व्याकरण अध्ययन गर्नका लागि के.एन. स्वामीले सञ्चालन गर्नुभएको अनलाइन कक्षामा उत्साहपूर्ण सहभागिता जनाए । युगलकिशोरले सामान्य चिनाटिपन बनाउने मात्र होइन, फलादेशसमेत हेर्ने गरेका छन् ।
पूर्वीय ज्ञान र दर्शनका अध्येता युगलकिशोरले औपचारिकरूपमा विद्यालयीय शिक्षाको सुरुवात भने संस्थागत विद्यालय (अङ्ग्रेजी माध्यम)बाट भएको पाइन्छ । उनले स्थानीय न्यु पेगोडा अङ्ग्रेजी आवासीय माविबाट पढाइको श्रीगणेश गर्दै निरन्तर कक्षा १० सम्म त्यहीँ अध्ययन गरे । सो अवधिमा सबैजसो कक्षामा अब्बल बनेका युगलकिशोर जिल्लास्तरसम्मका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरूमा समेत प्रथम बन्न सफल भएको उक्त विद्यालयका निर्देशक टीकाप्रसाद दङ्गालले जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘पेगोडाको गौरवमा पर्यायवाची बन्ने विद्यार्थीहरूमध्ये युगलकिशोर पनि एक हुन्, उनमा भएको बहुमुखी प्रतिभालाई एउटै वाक्यमा व्यक्त गर्न कठिन हुन्छ । यो प्रगतिका पछाडि विद्यालयसँगै उनको पारिवारिक वातावरण पनि प्रमुख कारक बनेको छ ।’
‘बाल व्यासाचार्य’ को रूपमा स्थापित हुँदै गरेका युगलकिशोर हाल भने स्थानीय पञ्चायत माविमा विज्ञान विषय समूहअन्तर्गत कक्षा ११ मा नियमित अध्ययन गरिरहेका छन् । उनले ऐच्छिक विषयको रूपमा भौतिक विज्ञान (फिजिक्स), रसायन विज्ञान (केमेस्टूी), जीवविज्ञान (बायोलोजी) र गणित पढिरहेको शिक्षक चक्रधर गौतमले जानकारी दिनुभयो । विद्यालयका सह–प्रधानाध्यापक बुद्धिनाथ अधिकारीका अनुसार पढाइमा अत्यन्त लगनशील रहेका युगलकिशोर वाक्कलाका समेत अब्बल विद्यार्थी हुन् । पढाइसँगै उनले विभिन्न प्रतियोगिताहरूमा पनि आफूलाई अब्बल सावित गर्दै आएका छन् । नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका अध्येता एवम् सफल प्रयोगकर्ता युगलकिशोर सामाजिक परिवर्तन र नेतृत्व विकासका आशालाग्दो पात्र रहेको विद्यालयका प्रधानाध्यापक एवम् नेपाल शिक्षक महासङ्घ, पथरीशनिश्चरे नगर कमिटी अध्यक्ष अर्जुनकुमार बुढाथोकीको भनाइ छ ।
२०७५ सालमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता प्रथम बनेका युगलकिशोर प्याब्सन पथरीशनिश्चरेले २०७६ सालमा आयोजना गरेको पालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा पनि प्रथम भए । स्थानीय लर्डबुद्ध साकोसले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा २०७५ र २०७६ सालमा लगातार प्रथम बनेका उनी अनलाइन ज्ञानमञ्चजस्ता प्रतियोगितामा पनि पुरस्कृत हुँदै आएका छन् । विभिन्न विद्यालय, स्थानीयस्तर र जिल्लास्तरसम्मका प्रतियोगिताहरूबाट युगलकिशोरले आजसम्म २ दर्जनभन्दा बढी पुरस्कार प्राप्त गरिसकेको पिता पं. केवलकृष्णले जानकारी दिनुभयो ।
खासमा आफ्नो थातथलो छोडी भारतीय विद्यापीठहरूमा गएर अध्ययन गर्ने मात्र पण्डित बन्दछन् भन्ने नेपाली समाजमा व्याप्त सङ्कीर्णतावादी चिन्तनलाई हटाउन युगलकिशोर उदाहरणीय पात्र बनेका छन् । यसैगरी व्यक्तिले सबै विषयक्षेत्रको ज्ञान आर्जन गरी आफूलाई समयानुकूल गतिशील बनाउन अग्रसर बन्नुपर्दछ भन्ने प्रेरणा पनि उनीबाट पाउन सकिन्छ ।

सम्बन्धित खवर