राष्ट्रपति रनिङसिल्ड नगरले नै राख्यो

राष्ट्रपति रनिङसिल्ड नगरले नै राख्यो

लेटाङ, राष्ट्रपति रनिङसिल्ड नगरपालिका कार्यालयले नै राखेको छ । खेलका क्रममा गलत खेलाडी खेलाएर सिल्ड लिन खोजेपछि आयोजकले सिल्ड कुनैपनि विद्यालयलाई नदिने निर्णय गर्दै आफैले राखेको हो ।

लेटाङ ४ मा रहेको शान्ति भगवती माविले यस यसवर्षको राष्ट्रपति रनिङसिल्डको संयोजन गर्ने जिम्मेवारी पाएको थियो । जिम्मेवारी पाएकै विद्यालयले पुरुष तर्फको भलिबल खेलमा गलत खेलाडी खेलाएको भन्दै आयोजकमा उजुरी परेपछि यस्तो निर्णय गर्नुपरेको शिक्षा शाखा प्रमुख कृष्णराज राईले बताउनुभयो ।

चारवटा स्वर्ण पदक सहित शान्ती भगवती मावि प्रथम भएको थियो । गलत खेलाडी खेलाएपछि शान्तीले कार्वाही स्वरुप अब दुई वर्षसम्म राष्ट्रपति रनिङसिल्डमा सहभागी हुन नपाउने भएको छ । शान्तीसंग भलिवलमा प्रतिष्पर्धा गर्ने टिम भोगटेनी माविलाई प्रथम घोषणा गरी जिल्ला स्तरमा हुने राष्ट्रपति रनिङसिल्डमा सहभागी गराउने निर्णय भएको राईले बताउनुभयो ।

“राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को चौथो संसोधन २०७९ को परिच्छेद १८ को (ख) अनुसार प्रतियोगितामा मापदण्ड बिपरितका खेलाडीले पदक प्राप्त खण्डमा त्यस्तो पदक खोस्ने र निकटतम् प्रतिस्पर्धी खेलाडीलाई सो पदक प्रदान गरिने छ । मापदण्ड बाहिरका खेलाडी सहभागी गराउने निकायलाई आयोजक समितिले अनुशासनको कार्वाही स्वरुप बाँकी सबै इभेन्टमा सहभागी गराउने छैन् ।” भन्ने उल्लेख छ ।

प्रकृयागत रुपमा चुक्दा खेलमा केही खल्लो भएको नगर प्रमुख तथा आयोजक समिति संयोजक भूपेन्द्र कुमार लावतीले बताउनुभयो । यो गलतबाट नयाँ पाठ सिकेर अगाडी बढ्न लावतीले सुझाउनुभयो ।

अनुशासन हरेक क्षेत्रमा आवश्यक रहेको, अझ खेल क्षेत्रमा अत्यन्तै धेरै अनुशासन हुनुपर्ने उपमेयर कृष्ण कुमारी निरौलाले बताउनुभयो । नगरमा व्यवस्थित खेल मैदानको समस्या रहेको बताउदै निरौलाले आगामी दिनमा खेलकुदलाई अझै व्यवस्थित बनाउन पहल गर्ने बताउनुभयो ।

अनुशासन तोड्दा हातमा परेको खुसी गुमाउनु परेको प्याब्सन नगर अध्यक्ष कमल अधिकारीले बताउनुभयो । धैर्यता र संयमता कायम राख्दै आयोजकले गरेको निर्णयको स्वागत गर्नुपर्ने अधिकारीको भनाइ थियो ।

लेटाङमा यसवर्ष राष्ट्रपति रनिङसिल्डका लागि सामुदायिक ११ वटा र संस्थागत ९ वटा गरी जम्मा २० वटा विद्यालय सहभागी भएका थिए ।

सम्बन्धित खवर