पथरीशनिश्चरेको १२ औँ नगरसभाले पास ग¥यो २ वटा विधेयक

पथरीशनिश्चरेको १२ औँ नगरसभाले पास ग¥यो २ वटा विधेयक

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको १२ औँ नगरसभा बुधबार सम्पन्न भएको छ । सभाले २ वटा विधेयक पास गरेको नगर प्रवक्ता नविनजंग कार्कीले जानकारी दिनुभयो ।

सभाले “पथरीशनिश्चरे नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७९” र “पथरीशनिश्चरे नगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७९” पास गरेको हो । अब सो विधेयक राजपत्रमा प्रकाशित भएपछि लागू हुने छ । यसले नगरको विपत न्यूनीकरण र शिक्षाको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने कार्कीले जानकारी दिनुभयो ।

सभाले ११ औँ नगरसभाले विनियोजन गरेको स्रोतगत बजेटमा ७ करोड ७९ लाख ४८ हजार २९० रुपैँया कम हुने देखिएपछि योजना तथा कार्यक्रमहरू संसोधन समेत गरेको छ । संघीय सरकारको वित्तीय सामान्यीकरण तर्फबाट १ लाख ८३ हजार ६४०, राजश्व वाँडफाँड तर्फ ५ करोड ५९ लाख ४६ हजार १५०, प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ४८ लाख ४८ हजार ५००, मालपोत कार्यालयबाट प्राप्त हुने १ करोड ७० लाख गरी जम्मा ७ करोड ७९ लाख ४८ हजार २९० रुपैँया कम हुने देखिएको हो ।

पथरीशनिश्चरे नगरपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ६७ अंक प्राप्त गरेको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा ७४ अंक प्राप्त भएको पनि नगरसभाले अनुमोदन गरेको छ ।

वडा नं. १ को कार्यालय भवन निर्माण गर्ने प्रकृयामा रहेकाले हाल नगरपालिकाको पार्किङ भएको स्थान खाली गरि नगरको भवन उत्तर रहेको खाली जग्गामा कम्पाउण्ड र टहरा निर्माण गरेर पार्किङ व्यवस्थित बनाउने निर्णय भएको छ ।

नगरमा घरनक्सा पासका लागि आवश्यक प्रकृया पुरा गरि प्रकृयामा रहेको तर कार्यालयको त्रुटिका कारण बिलम्ब भएका सेवाग्रहीहरूका लागि ३५ दिने सूचना प्रकाशन गरि एक पटकका लागि बिलम्ब शूल्क नलिने गरि निर्माण सम्पन्न भएको प्रतिलिपि उपलब्ध गराउने निर्णय भएको छ ।

नगरको पश्चिममा रहेको डाँस खोला र पूर्वमा पर्ने सुनझोडा र बक्राहा खोलाको नदिजन्य बस्तु (गिटी, बलुवा) उत्खन्नका लागि छिमेकी पालिका र जिल्ला समन्वय समिति लगायतका सरोकारवालासंग आवश्यक राय लिने निर्णय भएको छ । यसअघि २ वर्ष लगातार खोला ठेक्कामा विवाद हुदै आएको छ । गतवर्षको ठेक्कामा त नगरले मनोमानी ढंगबाट ६४ लाख रुपैँया ठेकेदार कम्पनीलाई फिर्ता समेत दिएको थियो ।

नगरमा रहेको दोहोरो स्वामित्वको जग्गाको मालपोत नगर र मातहतका कार्यालयबाट नलिने भएको छ । दोहोरो स्वामित्व रहेका जग्गामा जोतभोगका आधारमा बसोबास गर्ने व्यक्तिलाई जग्गा धनि प्रमाण पूर्जा प्राप्त गर्नका लागि संघीय र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नगर क्षेत्रमा हेफर इन्टरनेश्लले कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश भएको र सो प्रस्ताव स्वीकृत गरि साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

पथरी बजारको पूर्वपश्चिम राजमार्गको दुवै बसस्टेसन स्थानान्तरण भएको छ । पश्चिम बसस्टेन पथरी खोला पश्चि र पूर्व बसस्टेन ट्राफिक कार्यालय अगाडी सारिएको छ । यी दुबै बसस्टेनमा सार्वजनिक शौचालय निर्माण गर्ने प्रकृया अगाडी बढाउने निर्णय गरेको छ ।

सर्पदंश उपचारका लागि दमक लगायतका स्थानमा पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्न नगर अस्पतालबाट सर्पदंश उपचार सेवा प्रवाहका लागि प्रकृया अगाडी बढाउने निर्णय गरेको छ ।

नगरपालिका निर्माण भएको करिब ७ वर्ष बित्दा पनि नगरको भवन निर्माण, फोहोरमैलाको उचित व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा भने नगरसभाले कुनै निर्णय गरेको छैन् ।

नगर भवनको विषयमा मेयर मोहन तुम्वापोले सर्वोच्चको निर्णय कुरेर बसेको बताउनुभयो । हाल वडा नं. १० मा रहेको वनको जग्गामा नगर भवन निर्माण गर्ने विषयमा सर्वोच्च अदालतमा मुद्धा परेपछि अघिल्लो कार्यकाल आलटालमै बितेको थियो । वडा नं. १० भवन नबन्ने स्थिति आएमा बिकल्प खोज्ने तुम्बापोले बताउनुभयो ।

आज (बिहिवार) भएको पत्रकार सम्मेलनमा नगरसभाको निर्णय साथै हालसम्म (६ महिना) को प्रगति प्रतिवेदन समेत पेश गरिएको थियो । पथरीशनिश्चरेले आर्थिक वर्षको ६ महिना बित्दा चालु तर्फ ३९.२९ प्रतिशत खर्च गरेको छ भने पुँजीगत तर्फ १९.०९ प्रतिशत खर्च गरेको छ ।

विकासका कामहरू सञ्चालनमा रहेको र कतिपय कामको भूत्तानीका लागि आइसकेको अवस्था रहेकाले पुँजीगत खर्च बढ्ने अवस्था रहेको लेखा अधिकृत पिताम्बर वस्तीले जानकारी दिनुभयो । चालु खर्चमा तलब नै रोकिएको अवस्था रहेकाले कम देखिएको वस्तीले बताउनुभयो ।

नगरको लघु उद्यम विकास शाखाले सबैभन्दा बढि ८८ प्रतिशत् प्रगति गरेको देखिएको छ ।

नगरसभाले नगरको उत्कृष्ट कर्मचारीको रुपमा योजना शाखाका कर्मचारी लुकनाथ पोखरेललाई सम्मान गरेको छ । पाेखरेललाई नगद ३० हजार र सम्मान पत्र सहित सभामा सम्मान गरिएको हो ।

सम्बन्धित खवर