सहकारीमा कर्मचारी नै चोर भएको भन्दै जाहेरी, संचालक समिती समपर्क विहिन

सहकारीमा कर्मचारी नै चोर भएको भन्दै जाहेरी, संचालक समिती समपर्क विहिन

मिक्लाजुङ, सहकारीका कर्मचारी नै चोर रहेको भन्दै किटानी जाहेरी परेको छ । सञ्चालक समितिले आर्थिक अनियमितता गरेको आरोप लागेपछि सञ्चालकहरु पनि सम्पर्क बिहिन भएका छन् ।

यो खबर हो मोरङको मिक्लाजुङ गाउँपालिका ३ टाँडीमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थाको । गएको शुक्रबार राती संस्थाको ताला फोडेर सेफ समेतबाट ३४ लाख चोरी भएको घटना बाहिरिएको थियो । संस्थामा चोरी भएको भनेर प्रपञ्च मात्रै रचिएको संस्थाकी सेयर सदस्य तथा सोही संस्थाकी पूर्व अध्यक्ष उषा राईले बताउनुभयो । दोहोरो चरित्र देखाएर संस्थामा कर्मचारी र सञ्चालक मिलेर रकम लुटिएको राईको आरोप छ ।

सो सहकारी उर्लाबारीमा रहेको सुर्य बचत तथा ऋण सहकारी संस्थासंग मर्जिङको तयारीमा रहेको थियो । मर्जिङको तयारी गरिरहेको अवस्थामा गत शुक्रबार राति सो सहकारी भवनको ताला फोडी भएको चोरीको घटनामा प्रारम्भिक चरणमा ३४ लाख रूपैयाँ चोरी भएको भन्दै संस्थाका प्रबन्धक प्रकाश खनालले प्रहरीलाई जानकारी गराएका थिए ।

खनालले प्रहरीलाई दिएको जानकारीका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले आर्थिक कारोबार हेर्ने मेनुका नेपाली (शिवा), सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

सोधुपुछका क्रममा शिवाले सहकारीको सेफको चावी ‘सेफ’ भित्रै रहेको र ‘सेफ’ फोडर त्यँहा रहेको ३४ लाख रुपैया चोरी भएको प्रारम्भिक बयान दिएता पनि शिवाको घर खानतलासी गर्दा सेफको चावी उनकै घरमा फेला परेपछि प्रहरीले अन्य लाई निगरानीमा राखेर शिवालाई हिरासतमा राखी घटनाको अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धानका क्रममा सहकारीका तर्फबाट चोरी भएको ३ दिन पछि मात्र शिवाका नाममा प्रहरीमा परेको जाहेरीमा ३ लाख ५६ हजार रुपैँया मात्र उल्लेख गराईएपछि चोरीको घटना थप रहस्यमय बनेको भन्दै सहकारीका शेयर सदस्य मञ्जु पराजुलीले पनि घटनाको बारेमा शुक्ष्म रुपमा अनुसन्धान गर्नु पर्ने माग राखिन् ।

पराजुली भन्नुहुन्छ ‘केही दिन अगाडी ऋण खानु पर्यो भनेर ऋण माग्दा अहिले पैसा छैन् पालो कुरेर बस्नु भनेका थिए अहिले यत्रो ठुलो रकम चोरी भएको सुन्दा अचम्म लागेको छ ।’

३४ लाख रुपैया चोरी भएको प्रहरीलाई जानकारी गराएपनि हिसाव किताव हेरेपछि मात्र किटानी जाहेरी दिने र संस्थाप्रति उठेका प्रश्नहरु अग्रजहरु बसेर सल्लाह गरेर जवाफ दिने बताएकी सस्थाकी अध्यक्ष मिना कार्कीलाई यो समाचार तयार पार्दा सम्म पटकपटक सम्पर्क गर्न खोजिएपनि उनि सम्पर्कमा आउन चाहिनन् ।

सहकारीमा हिसाव किताव पारदर्शी नहुने गरेको प्रमाण पटक पटक भेटिएपनि अध्यक्षले त्यस्ता कुराहरुलाई बेवस्था गर्दा सहकारी दुर्घनामा जाने खतरा पहिले नै देखिएको संचालक समिती सदस्य अनिता श्रेष्ठ बताउनुहुन्छ ।

संस्थाका एक सञ्चालकले भने असोजमा गरिएको संस्थाको साउन मसान्त सम्मको अडिट रिर्पोटमा २९ लाख भन्दा बढी रकम शिवाका नाममा नामे बेरुजु आएको थियो । नामे बेरुजु आएपनि सो बापतको रकम तिर्न उनि तयार भएपछि नामे बेरुजुको रकम असुलउपर गर्ने निणर्य गरेर संस्थाले उनलाई कुनै कार्वाही गरेको थिएन । कार्वाही गर्नुपर्ने शिवालाई अझ आर्थिक कारोबारमा निरन्तरता दिदै आएको भित्री कुरा समेत सहकारीले सार्वजनिक गर्न अटेर गरेको थियो । मर्जिङको तयारीमा रहेका बेला शिवाको अशुल उपर गर्नुपर्ने रकम चोरीको आरोप लगाएर संस्थाको आर्थिक अनिमितताको पाटोलाई बन्द गर्न खोजेको देखिएको छ ।

सहकारीमा अस्तव्यस्तता देखिए पछि ९ सय बढि सदस्यको बचत रकम गुम्ने खतरा देखिएको छ ।

सम्बन्धित खवर