सरकार कहिलेसम्म निरिह रहने ? ः लामिछाने

सरकार कहिलेसम्म निरिह रहने ? ः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् । उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गरेका छन् ।

महाकाली नदीको वहाव नेपालतर्फ आउने गरी पक्की संरचना बनाएको विरोध जनाउने क्रममा भारततर्फबाट आएको ढुंगाले लागेर ४ जना नेपाली बालबालिका घाइते भएका थिए । विगतमा तुइन काटिँदा जयसिंह धामी महाकालीमा बेपत्ता भएको र सडक बनाउँदा विस्फोटबाट आएको ढुंगाले लागेर ९ वर्षका पवन महराको मृत्यु भएको उदाहरण दिँदै सभापति लामिछानेले यस्तो अवस्थामा पनि नेपालको सरकार कहिँ कतै नदेखिएको बताए ।

‘वर्षौंको यो निरीहताको कारण के होला ? आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धि सम्झौताका पाना पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?’ उनले प्रश्न गरेका छन् ।

लामिछानेले अगाडि भनेका छन्, ‘आफ्नो हक पाउनु भनेको कसैको बिरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई रु राज्य यस्तो हुनु हुदैन । सरकार अब यसरी चल्नु हुदैन । यो निरन्तरको निरिहताको अर्थ अब खोज्नुपर्छ ।’

उनले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ पुस्ताको आगमन भइसकेको भन्दै यस्ता समस्याका विषयमा नयाँ शिराबाट कुरा गर्न आह्वान गरेका छन् । ‘दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन’ उनले भनेका छन् ।

अनलाइन खबरबाट

सम्बन्धित खवर