हिंसापीडित महिलालाई ५० हजार सहयोग 

हिंसापीडित महिलालाई ५० हजार सहयोग 

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले घरेलु हिंसापीडित महिलालाई आर्थिक सहयोग गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा जालपाकी लक्ष्मी राईलाई नगद ५० हजार सहयोग गरेको हो ।

मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले लक्ष्मीलाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत नगद रकम हस्तान्तरण गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा विगतमा दिक्तेलबजारमा र्‍याली निकालेर कार्यक्रम गर्नेगरिएकामा यसपल्ट र्‍याली निकाल्ने रकम हिंसा पिडित महिलालाई छानेर प्रदान गरिएको हो ।

लैंगिक हिंसा विरुद्धको अभियानलाई ‘बजारमुखी होईन गाउँमुखी’ बनाउने लक्ष्यका साथ र्‍याली गर्ने खर्चलाई हिंसा पिडित महिलाको सहयोगार्थ उपयोग गरिएको नगरपालिकाले जनाएको छ ।

अभियानकै अवसरमा जालपाका १७३ वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र प्रदान गरिएको छ ।  सात जनालाई अपांगताको परिचयपत्र वितरण गरिएको छ ।

सम्बन्धित खवर