सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना

सिराहामा दलीय विवादले सुरु हुन सकेन मतगणना

सिराहा, सिराहामा दलीय प्रतिनिधिको विवादका कारण मतगणना सुरु हुन सकेको छैन । साेमबार बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिता विषयमा टुंगाे लाग्न नसक्दा मतगणना सुरु हुन सके छैन  ।

सिराहामा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशतभन्दा बढी मतदान भएको छ। जिल्लाको २२१ मतदान स्थल र ५०५ मतदान केन्द्रहरूबाट ६२ प्रतिशतभन्दा बढी मतदान भएको जिल्ला निर्वाचन कार्यालयले सिराहाले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय सिराहाका सूचना अधिकारी गनपैत यादवका अनुसार अहिलेसम्म प्राप्त मतदान केन्द्रहरूको मतपरिणामअनुसार कम्तीमा ६२ र बढीमा ७५ प्रतिशतसम्म मतदान भएको पाइएको छ।

जिल्लाका सबै मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भए पनि दलीय प्रतिनिधिको विवादका कारण मत गणना सुरु हुन सकेको छैनन् । निर्वाचन सम्पन्नपश्चात् सवै मतपेटिका मतगणणास्थलसम्म पुर्‍याएर साेमबार बिहान १० बजे सर्वदलीय बैठक बसेर मात्र मत गन्ने भनिए पनि हालसम्म अन्याेल नै छ ।

सिराहाको सबै क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेको र छलफलपश्चात् केहीबेरमै मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । सिराहा १ को मतगणना लहानस्थित दुलिचन अतिथि सदन, क्षेत्र नम्वर २ को धनगढीमाई नगरपालिकाको प्रशासकीय भवन, क्षेत्र नम्वर ३ को चन्द्र माध्यमिक विद्यालय सिराहा र क्षेत्र नम्वर ४ को मतगणना मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयमा हुनेछ।

जिल्लामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन्। जिल्लामा दुई लाख २४ हजार ९९ पुरुष, एक लाख ९८ हजार ६११ महिला र दुई अन्य  मतदातासहित जम्मा चार लाख २२ हजार ७१२  मतदाता छन् ।

सम्बन्धित खवर