मदिरामा लठ्ठ एमाले कार्यकर्ताले माओवादी कार्यकर्तालाई कुटे

मदिरामा लठ्ठ एमाले कार्यकर्ताले माओवादी कार्यकर्तालाई कुटे

महोत्तरी, मदिरामा लठ्ठिएका एमाले कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तालाई गाउँमै पसेर कुटेमा छन् । महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका  एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्थानीय रामभुषण साहका अनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए ।

माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।

सम्बन्धित खवर