सोरुङछबिसेवासीले फिर्ता लिए मतदान बहिष्कारको निर्णय

सोरुङछबिसेवासीले फिर्ता लिए मतदान बहिष्कारको निर्णय

उदयपुर, कटारी नगरपालिका १० सोरुङछबिसेवासीले यसअघि गरेको मतदान बहिष्कारको निर्णय फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनमा प्रहरीको गोली लागि एक किशोरको ज्यान जाँदा भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने बताउँदै आएका थिए ।

कटारी नगरपालिकाको कार्यालयमा मंगलवार बसेको सर्बदलीय र सर्बपक्षीय बैठकले पूर्व सहमति कार्यान्वयन गराउन सबै पक्ष लाग्ने भनेपछि बहिष्कारको निर्णय फिर्ता  भएको हो । स्थानीय तह निर्वाचनमा सोरुङछबिसे माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक युवाको घट्नास्थलमै ज्यान गएको थियो । अर्का एक जना पनि घाइते भएका थिए  ।

गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवार कै भतिजको ज्यान गएको थियो । यसपछि स्थानीयवासी निकै आक्रोशित बनेका थिए । आक्रोश सान्त पार्न सरकारले विभिन्न सहमित गरेको थियो तर उक्त सहमति हालसम्म पनि कार्यान्वयन नभएको स्थानीयको आरोप छ । यही कारण कटारी नगरपालिका १० का राजनीतिक दलहरूको बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए ।

सहमितमा उच्चस्तरीय छानबिन आयोग गठन, दोषीलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई पत्र लेखी पठाउने, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई सहिद घोषणा गर्ने, घाइतेलाई उपचार र क्षतिपूर्ति उपलब्ध गराउने उल्लेख थियो । तर, त्यो सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरूले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए ।

छलफलमा घटनाको गृह मन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयलाई आग्रह गर्ने, मृतकलाई शहीद घोषणाका लागि फेरि पहल गर्ने,  सहमतिअनुसारको राहत रकम १० लाख रुपैयाँ मृतकका बाबु जितबहादुर कटुवाललाई उपलब्ध गराउने, घाईतेको औषधि उपचारको पैसा उपलब्ध गराउने सहमति भएपछि निर्बाचन वहिष्कारको निर्णय फिर्ता भएको हो ।

सम्बन्धित खवर