देशमै रोजगारी, चाडै समृद्धिः विश्वप्रकाश

देशमै रोजगारी, चाडै समृद्धिः विश्वप्रकाश

कास्की २ (१)मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले गरिबका छोराछोरी अब रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता हटाइने बताएका छन् ।

पोखरा १७ को बाराही टोलमा गठबन्धनको सम्पर्क कार्यालयमा भएको कार्यक्रमा लामिछानेले गठबन्धनको जित भएपछि रोजगारीमा नयाँ नयाँ सम्भावना खोजिने उल्लेख गरे ।

निशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको अवसर अहिलेका मुख्य एजेन्डा भएको उनको भनाइ छ । माओवादीको सरकारले नै गरिब र सुकुम्बासीको समस्या हल गरेको तर्क गर्दै उनले भूमिहीन र अव्यवस्थित बासोबासीका समस्या पनि आफूहरुले नै समाधान गर्ने आश्वासन दिए ।

‘संविधानमा सबै जनताको अधिकार राज्यले ग्यारेन्टी गर्ने लेखिए पनि व्यवहारमा आएको छैन,’ लामिछानेले भने, ‘यस्ता अधिकार जनताले पाउनुपर्छ भनेर नै म चुनावमा होमिएको छु ।’

कास्की २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ४० वर्षदेखि गरिब दुःखीका लागि अधिकार खोज्न राजनीतिमा आफू क्रियाशील रहेको बताए ।  उनले १ घर १ रोजगारको योजनाअघि सारिने उल्लेख गरे । कृषिमा आधुनिकरण र व्यवसायीकरण गर्ने योजना उनले सुनाए ।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य चूडामणि जंगलीले जनताले असल र खराब नेताको मूल्यांकन गर्ने समय आएको जनाए । उनले फेवातालका संरक्षक र राजमार्ग चक्ल्याउने नेतृत्वकर्ता विश्वप्रकाशले निर्वाचन जिते यो क्षेत्रको कायाकल्प हुने दाबी गरे । नेपाली काँग्रेस इकाइ सभापति देवराज आचार्यले गठबन्धनको जितबाट मात्र समृद्धिको सपना साकार हुने सुनाए ।

सम्बन्धित खवर